
अभिनेता सुनील पोखरेलको १३ वर्षपछिको कमब्याक फिल्म ‘झिल्को’को प्रदर्शन मिति परिवर्तन भएको छ । आज पुष ५ गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब आगामी बैशाख १९ गतेबाट फिल्म प्रदर्शन हुने बिहीबार पोस्टर सार्वजनिक गर्दै जानकारी गराइयो । केही प्रतिशत छायांकन बाँकी रहेकाले पूर्वघोषित मितिमा फिल्म रिलिज गर्न नसकिएको निर्देशक यादवकुमार भट्टराईले बताए ।

गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को नाममा कीर्तिमानको चाङ नै लागेको छ । फिल्मले बनाएको सबैभन्दा ठूलो कीर्तिमानी घरेलु बक्स अफिसमा गरेको ऐतिहासिक कमाइ हो । यसले करिब ५० करोड कमाइसकेको छ । यसबीच, ‘सारङ्गी’ले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । त्यो हो, हालसम्मकै धेरै हलमा प्रदर्शनको ५१ दिन पूरा गर्नु ।

गत वर्षसम्म अभिनेता सौगात मल्लका फिल्म एउटा हलबाट नउत्रिँदै अर्को लागिसकेको हुन्थ्यो । हप्तैपिच्छे समेत उनका फिल्म रिलिज भए । तर, यस वर्षका लागि भने उनको पहिलो फिल्म बल्ल हलमा लागेको छ । करिब ८ महिनापछि उनको नयाँ फिल्म ‘बम बहादुर’ शुक्रबारबाट प्रदर्शनमा आएको हो । उनको पछिल्लो फिल्म ‘द रेड सुटकेस’ गत चैत ३० गते हलमा लागेको थियो ।

मल्टीस्टारर फिल्म ‘पिताम्बर’ आगामी नयाँ वर्षको सम्मुखमा रिलिज हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । केही दिनदेखि फागु पूर्णिमामा फिल्म रिलिज हुने चर्चा चलिरहेको थियो । तर, भर्खर मात्र छायांकन सकिएकाले पोस्ट प्रोडक्सनको काम नभ्याइने भएपछि फिल्मलाई चैत २९ मा पुर्याइएको हो ।

गायन हुँदै अभिनयमा होमिएका प्रकाश सपूतले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन सकाएका छन् । बुधबार काठमाडौंको ठमेलमा अन्तिम दृश्य खिच्दै फिल्म प्याकअप भएको हो । काठमाडौंसहित बाग्लुङ, वीरगञ्ज, हेटौंडा र पथलैयामा ३८ दिन फिल्मको छायांकन भएको जनाइएको छ । फिल्मको धेरैजसो छायांकन प्रकाशकै गृहजिल्ला बाग्लुङ क्षेत्रमा भएको छ ।

बाल विवाह तथा महिला हिंसाविरुद्धको कथावस्तुमा आधारित भएर बनेको फिल्म ‘जुना’ आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौं र मोफसलका लागि वितरकको टुंगो लगाउँदै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । अब माघ २५ गते ‘जुना’को बक्स अफिसमा अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘ममी’सँग भिडन्त हुनेछ ।