विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा २० मे (७ जेठ)मा प्रिमियर हुन लागेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक १ मिनेट ४४ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । यो फिल्म कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर हुँदैछ ।
जंगलमा हराएकी छोरी खोज्न एक आमाले गरेको प्रयास र त्यसमा आउने अवरोधलाई ट्रेलरमा देखाइएको छ । वनको बीचमा रहेको एउटा गाउँमा जंगली हात्तीले मच्चाएको विध्वंश र हात्ती भगाउन गाउँहरूले गरेको प्रयासलाई पनि ट्रेलरले चित्रण गरेको छ । साथै, किन्नर समुदायप्रति समाजले गर्ने व्यवहारलाई पनि फिल्मले देखाउने ट्रेलरले संकेत गर्छ ।
यस फिल्मको केही दिनअघि अन्तर्राष्ट्रिय प्रदर्शनका लागि पहिलो वितरण सम्झौता भइसकेको छ । फिल्मको अन्तर्राष्ट्रिय बिक्री अधिकार ‘बेस्ट फ्रेन्ड फरेभर’ले लिएको हो । नेपालमा ‘द टी फोक्स फिल्म्स’ले वितरण गर्ने यस फिल्मलाई फ्रान्समा ‘अरिजोना डिस्ट्रीब्युसन’ र ‘ले भाल्सेउर डिस्ट्रीब्युसन’, जर्मनी र अस्ट्रियामा ‘मिसिङ फिल्म्स’ र ब्राजिलमा ‘इमोभिजन’ले प्रदर्शन गर्नेछन् ।
निर्देशक अविनाश विक्रम शाहको यो पहिलो फिचर फिल्म हो । उनी निर्देशित लघु फिल्म ‘लोरी’ले सन् २०२२ मा कान्स फिल्म फेस्टिभलको सर्ट फिल्म प्रतिस्पर्धामा ‘स्पेशल मेन्सन’ अवार्ड प्राप्त गरेको थियो । उनले यसअघि फिल्म ‘शाम्बाला’को पटकथा सहलेखन समेत गरेका थिए । उनी ‘एलिफेन्ट्स इन द फग’लाई यसै वर्ष नेपालमा प्रदर्शन गर्ने योजनामा छन् ।
अनुप पौडेल, कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठलगायत निर्माता रहेको यस फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डे, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

