Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाले चित्त दुखाएपछि केकी र गरिमाले गरे ‘मालती मंगले’को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2026/05/13

barsha raut

 

मंगलबार अभिनेत्री वर्षा राउतले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त मिडियोमा उनले गहभरि आँसु लिएर आफ्नो फिल्म ‘मालती मंगले’लाई कसैले साथ नदिएको भन्दै चित्त दुखाएकी छन् । उनको दुखेसो खासगरी फिल्म क्षेत्रका व्यक्तिहरूप्रति देखिन्छ ।

उनले भिडियोमा भनेकी छन्, ‘हरेक फिल्म आउँदा मैले सबैलाई सपोर्ट गरेको जस्तो लाग्थ्यो । प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गरिरहेको हुन्थेँ । तर, मेरो पालामा चाहिँ कसैले नगरिदिँदो रहेछ । ठिकै छ । माया गर्ने सबैलाई धन्यवाद ।’ बोल्दै गर्दा उनको आँखामा आँसु टिलपिल भएको थियो । उक्त भिडियोलाई अहिलेसम्म टिकटकमा १० लाखभन्दा बढीले हेरिसकेका छन् । 
 
वर्षाको टिकटक भिडियोपछि भने विशेषगरी अभिनेत्रीहरूबाट फिल्मलाई साथ मिल्न थालेको छ । बुधबार बिहान अभिनेत्री तथा मोडल गरिमा शर्माले फेसबुकमा एक पोस्ट लेख्दै ‘मालती मंगले’ एकपटक हेर्नैपर्ने फिल्म बनेको उल्लेख गरेकी छन् । उनले वर्षासहित विजय बराल र मेक्सम गौडेलको अभिनयको पनि प्रशंसा गरेकी छन् । 

उनले लेखेकी छन्, ‘मालती र मंगलेको प्रेम एकदम मनछुने लाग्यो । विजय दाइ, वर्षा दि र मेक्समजीको काम दर्शक भएर हेर्दा एकदमै ‘सेटिस्फाइङ’ थियो । रामकृष्ण दाइको पहिलो फिल्म भएर पनि कहीँ कतै खोट लगाउने ठाउँ थिएन । हेर्दाहेर्दै फिल्मले मनमा छुट्टै ठाउँ बनायो । एकपटक सबैले हेर्नैपर्ने सिनेमा ।’ उक्त पोस्टको कमेन्टमा विजयले गरिमालाई धन्यवाद दिएका छन् ।

 

keki


गरिमापछि केकी अधिकारीले पनि फेसबुकमा एक पोस्ट गर्दै ‘मालती मंगले’ हेर्न नछुटाउन दर्शकलाई आग्रह गरेकी छन् । उनले फिल्मको ट्रेलर सेअर गर्दै लेखेकी छन्, ‘रामकृष्ण ढकाल दाईद्वारा निर्मित वर्षा राउत, विजय बराल र हाम्रा आफ्नै मेक्सम गौडेल अभिनीत यो सुन्दर फिल्म हेर्न नबिर्सनुहोला । तपाईंको नजिकैका थिएटरहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ ।’

चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’मा वर्षाले ग्रामीण महिलाको भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको अभिनयको दर्शकदेखि समीक्षकसम्मले प्रशंसा गरिरहेका छन् । कतिपयले उनको अभिनयलाई अहिलेसम्मकै उत्कृष्टको संज्ञा दिएका छन् । तर, यसका बाबजुद पनि फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । 

Most Visited News (monthly)