Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेरोस्ट्रिम’ ओटीटी सञ्चालनमा, कति छ मासिक शुल्क ?

फिल्मीखबर, काठमाडौं, 2026/11/02

MeroStream OTT

 

काठमाडौं । कोरोना महामारीपछि विश्वभर डिजिटल प्लेटफर्ममा दर्शकको आकर्षण ह्वात्तै बढेको छ । यससँगै ओटीटी प्लेटफर्महरू पनि निकै फस्टाएका छन् । नेपालमा मात्रै कोभिडपछि एक दर्जनभन्दा बढी ओटीटी सञ्चालनमा आइसकेका छन् । अब नेपाली बजारमा नयाँ ओटीटी प्लेटफर्मको उदय भएको छ । त्यो हो, ‘मेरोस्ट्रिम’ ।

सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो ओटीटीले दर्शकलाई आकर्षित गर्न बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन प्रकारका सदस्यता योजना ल्याएको छ । बेसिकको २९९ रुपैयाँ, स्ट्यान्डर्डको ३९९ रुपैयाँ र प्रिमियमको ५९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । एउटै सदस्यताले प्लेटफर्ममा उपलब्ध सम्पूर्ण सामग्री हेर्न सकिने जनाइएको छ । 

‘मेरोस्ट्रिम’का सञ्चालकका अनुसार तीनवटै योजना विज्ञापनरहित हुन् । एउटै खाताबाट चारवटासम्म प्रोफाइल बनाउन सकिने सुविधा छ भने क्रोमकास्ट वा एयरप्लेमार्फत टिभीमा समेत सामग्री हेर्न सकिनेछ । भुक्तानीका लागि दर्शकले खल्ती र इसेवासहित भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेस प्रयोग गर्न सक्नेछन् ।

‘मेरोस्ट्रिम’ले सुरुवाती चरणमा दुई फिचर फिल्म ‘कुमारी’ र ‘कठपुतली’ रिलिज गरेको छ । यसका साथै लघुफिल्म ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’, स्ट्यान्डअप कमेडी शो ‘मेरो माइक’ तथा एनिमेटेड चाइल्ड सिरिज ‘हजुरआमाको कथा’ पनि प्लेटफर्ममा उपलब्ध छन् । ‘मेरोस्ट्रिम’ले तिहार र छठको अवसरमा नयाँ फिल्म तथा वेब सिरिजहरू रिलिज गर्ने जनाएको छ ।