
नेपालमा सकारात्मक प्रतिक्रियासहित प्रदर्शन भइरहेको लभस्टोरी फिल्म ‘कुमारी’ अब विदेशका हलमा लाग्ने भएको छ । भोलि बिहीबार (१२ फेब्रुअरी)देखि अस्ट्रेलिया र मध्यपूर्वका देशहरूमा फिल्म प्रदर्शन हुन लागेको हो । त्यहाँको बक्स अफिसमै फिल्म रिलिज हुने वितरकले जनाएका छन् । दुवै देशमा फिल्मको अग्रिम टिकट बुकिङ सुखद देखिएको छ ।

अभिनेत्री लक्ष्मी गिरीले नेपाली फिल्म क्षेत्रमा चार दशक बिताइसकेकी छन् । यो अवधिमा एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनले प्रायः छुच्ची सासुको भूमिका निभाएकी छन् । यसैले उनको परिचय नै ‘छुच्ची बुढी’को रूपमा बनेको छ । तर, अब उनी यो छवि बदल्न चाहन्छिन् । आगामी फिल्म ‘श्री बुकुरो’मार्फत उनले आफ्नो पुरानो परिचय तोड्ने अपेक्षा राखेकी छन् ।

यही शुक्रबार (१ फागुन)बाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । मंगलबार ललितपुरको एक हलमा आयोजित प्रिमियरमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठदेखि ललितपुरका मेयर चिरिबाबु महर्जनसम्मले फिल्मको कथावस्तुको प्रशंसा गरे । फिल्मले जेनजी आन्दोलनलाई टेवा दिने उनीहरूको धारणा थियो ।

अभिनेता अर्पण थापाको निर्देशनमा बनिरहेको नयाँ फिल्म ‘फ्रेन्च किस’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । केही दिनदेखि चितवन जिल्लाका विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा अभिनेत्री रेखा थापाको पनि प्रवेश भएको छ । यसै साता आफ्नो भागको छायांकन सकाएर उनी काठमाडौं फर्किसकेकी छन् ।

‘जात्रा’ समूहको आगामी फिल्म ‘लालीबजार’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार टिजर सार्वजनिक गर्दै फिल्मलाई बैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेका हुन् । फिल्मको निर्माण घोषणा हुँदा फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । तर, फागुन २१ गते हुने चुनावका कारण निर्माताले फिल्मको रिलिज पछाडि सारेका हुन् ।

तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित फिल्म ‘लालिमा’ प्रतिनिधि सभाको निर्वाचन सकिएको एक सातापछि प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । सोही मितिमा अर्को फिल्म ‘स्त्री’ पनि रिलिज हुँदैछ ।

