.jpg)
कुनै बेला आफ्नो सशक्त अभिनयले दर्शकमा गहिरो छाप छाडेकी अभिनेत्री गरिमा पन्त करिब ९ वर्षपछि फिल्ममा फर्किएकी छन् । केही दिनदेखि भक्तपुरमा अन्तिम चरणको छायांकन भइरहेको फिल्म ‘बाटुलो जून’बाट उनले अभिनयमा पुनरागमन गरेकी हुन् । उनले बिहीबारबाट आफ्नो भागको छायांकन सुरु गरिसकेकी छन् ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार फिल्ममा गरिमाको जोडी भुवन केसीसँग बाँधिएको छ । फिल्ममा उनी बुढ्यौली गेटअपमा देखिनेछिन् । उनी यही फिल्मका लागि यसै साता बेल्जियमबाट नेपाल आएकी हुन् । उनले आफू छायांकनमा जोडिएको जानकारी दिँदै इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘केही समयको अन्तरालपछि फेरि क्यामरा, सेट अनि अभिनयसँगको भेट ।’
२०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह बन्धनमा बाँधिएपछि गरिमाले फिल्मबाट दूरी बनाएकी थिइन् । पछिल्लो पटक २०७४ सालमा रिलिज भएको फिल्म ‘स्काउट’मा देखिएकी उनले २०७० सालमा प्रदर्शन भएको फिल्म ‘झोला’बाट राष्ट्रिय अवार्डका साथै सार्क फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जित्न सफल भएकी थिइन् ।
अभिनयमा सक्रिय रहँदा सोझी र भलाद्मी अभिनेत्रीको छवि बनाएकी उनले ‘निखिल दाई’, ‘जीवन मृत्यु’, ‘प्रितीको फूल’, ‘दिदी भाइ’, ‘मनले मनलाई छुन्छ’, ‘सुन्दर मेरो नाम’ लगायतका दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । अब ९ वर्षपछि फिल्ममा देखिन लागेकी गरिमालाई पर्दामा हेर्न दर्शकका लागि रोचक अनुभव हुनेछ ।

