काठमाडौं । ‘पाँच पाण्डव’ भन्नासाथ हिन्दू धर्मको महान् ग्रन्थ महाभारत जोडिएर आउँछ । महाभारतकी प्रमुख पात्रमध्ये एक कुन्तीका पाँच छोरा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवलाई पाँच पाण्डव भन्ने गरिन्छ । शक्ति, पराक्रम र ज्ञानका प्रतीक मानिने यी पाँच भाइ महाभारतका महत्त्वपूर्ण पात्र हुन् । यिनै पात्रलाई बिम्ब बनाएर निर्माण भएको फिल्म हो, ‘पाँच पाण्डव’ ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा पाँच पाण्डवको भूमिकामा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलाले अभिनय गरेका छन् । द्रौपदीको भूमिकामा भने इभा गिरी छिन् । महाभारतका पात्रहरूलाई प्रतिबम्ब बनाएर कलियुगको परिवेशमा निर्माण भएको फिल्म प्रदर्शन मिति नजिकिँदै गर्दा विवादमा तानिएको छ ।
केही साताअघि निर्माण पक्षले फिल्मका पाँच पुरुष पात्रलाई पाँच पाण्डव र इभालाई द्रौपदीको रूपमा चिनाउँदै पोस्टर सार्वजनिक गरेको थियो । त्यसपछि ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ गीत सार्वजनिक गरियो । यहाँसम्म विवादको नामोनिशान थिएन । तर, शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ गीतपछि भने फिल्मलाई लिएर विवाद उग्र बनेको छ ।
गीतको भिडियोमा इभा क्यासिनोमा आइटम नृत्य गर्दै देखिएकी छन् । उनलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । युधिष्ठिरको भूमिकामा रहेका हरिवंश पनि क्यासिनोमा तास खेल्दै नाचिरहेका देखिन्छन् । महाभारतजस्तो पवित्र ग्रन्थका पात्रहरूलाई गीतमा यसरी प्रस्तुत गर्नु सनातन धर्ममाथिको भद्दा मजाक भएको भन्दै फिल्मविरुद्ध सामाजिक सञ्जालमा विरोध चर्किएको हो ।
युट्युबमा समेत गीतलाई लिएर धेरैले आपत्ति जनाएका छन् । महाभारतकी स्वाभिमान र अस्मिताका लागि अडिग द्रौपदी पात्रलाई बार डान्सरको रूपमा प्रस्तुत गर्नु सनातन आस्थामाथिको गम्भीर प्रहार रहेको कतिपयको टिप्पणी छ । फिल्म चलाउन धर्म र संस्कृतिको मर्यादामाथि प्रहार गर्नु उचित नभएको भन्दै केहीले बहिष्कारको आवाज समेत उठाएका छन् ।
हिन्दू धर्मका अभियन्ताहरूले पनि फिल्मको विरोध गरिरहेका छन् । चर्चित अभियन्ता बेदिका केसीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै महाभारतकी अग्निबाट उत्पन्न तेजस्वी र स्वाभिमानी द्रौपदीलाई गीतमा बार डान्सरजस्तो देखाउनु सनातन आस्थामाथिको मजाक रहेको बताएकी छन् । उनले फिल्म बहिष्कार गर्नुपर्ने माग समेत गरेकी छन् ।
गीतलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहँदा निर्देशक वसन्त निरौलाले फिल्म रिलिजको दिनसम्म पर्खिन आग्रह गरेका छन् । उनका अनुसार फिल्म धार्मिक कथावस्तुमा निर्माण भएको होइन । महाभारतका पात्रहरूलाई बिम्ब बनाएर आधुनिक नेपाली समाजको कथा प्रस्तुत गरिएको उनको भनाइ छ । फिल्मले सनातन आस्थामा कुनै चोट नपुर्याएको उनको दाबी छ ।

