
संगीतकार टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन २’मा यतिबेला कलाकार छनोटको काम भइरहेको छ । केही दिनअघि मात्र मुख्य अभिनेत्रीमा पूजा शर्मालाई अनुबन्धित गरिएको थियो । अब यस फिल्ममा अभिनेता महेश त्रिपाठीको प्रवेश भएको छ । उनीसँग मंगलबार निर्देशक बुढाथोकीले कागजी सम्झौता गरेका हुन् ।
यस फिल्ममा महेश र पूजा जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ । यो उनीहरूको दोस्रो सहकार्य हुनेछ । यसअघि दुवैले सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’मा एकसाथ काम गरिसकेका छन्, जुन प्रदर्शन हुन बाँकी छ । यद्यपि, यो फिल्ममा उनीहरू जोडीको रूपमा भने छैनन् । ‘मन बिनाको धन २’मा फेरि एकसाथ काम गर्न दुवै उत्साहित देखिएका छन् ।
आगामी भदौदेखि छायांकन सुरु हुने यस फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले उनी फिल्मको कथा लेखिरहेका छन् । फिल्मका गीतमा निर्देशक बुढाथोकी स्वयंको संगीत रहनेछ । टंक बुढाथोकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा विष्णु माया मैनाली रहेकी छन् । फिल्मलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । करिब ७ वर्षअघि रिलिज भएको यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको फिल्ममा पनि अशोक मुख्य भूमिकामा थिए । सिक्वेलमा भने उनको अभिनयबारे कुनै जानकारी गराइएको छैन ।

