.jpg)
काठमाडौं । अभिनेता दयाहाङ राई यस वर्ष बक्स अफिसका हिट मेसिन बनेका छन् । उनका दुई फिल्म लगातार व्यावसायिक रूपमा सफल भएका छन् । त्यो पनि डेढ महिनाको अन्तरालमा । यस वर्षका लागि उनको पहिलो सुपरहिट फिल्म ‘पेन्सन पट्टा’ हो । गत भदौ २६ गते रिलिज भएको फिल्मले १० करोडभन्दा बढीको व्यापार गरेको छ ।
दसैं विदाको अवसर पारेर कात्तिक ६ गते प्रदर्शन भएको दयाहाङ अभिनीत नयाँ फिल्म ‘कबड्डी ५’ले पनि व्यावसायिक सफलता हासिल गरेको छ । यसले प्रदर्शनको १० दिनमै साढे १० करोडको आँकडा पार गरेको छ । यो यस वर्ष सबैभन्दा छिटो १० करोड कमाउने पहिलो नेपाली फिल्म हो । फिल्मको व्यापारिक रफ्तार हेर्दा १५ करोडको व्यापार लगभग निश्चित देखिन्छ ।
‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’को सफलताले दयाहाङलाई ठूलो राहत दिएको छ । उनका पछिल्ला केही फिल्म असफल हुँदा उनको स्टारडम कमजोर हुँदै गएको टिप्पणी भएको थियो । हुन पनि पछिल्लो तीन वर्षमा उनी अभिनीत ‘रिमै’, ‘राजागन्ज’, ‘दुःखी आत्मा’, ‘कार्साङ’, ‘पिताम्बर’, ‘भूठान’, ‘महाभोज’, ‘वरिष्ठ बलराम’, ‘मिरमिरे’ र ‘मितज्यू’ असफल भएका थिए ।
तीन वर्षमा १० वटा फिल्मको असफलता भोगेका दयाहाङले यस वर्ष भने बक्स अफिसमा सानदार पुनरागमन गरेका छन् । ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’को व्यावसायिक सफलताले उनको करिअरमा सञ्जीवनी बुटीको काम गरेको छ । उनी यस वर्ष लगातार दुई फिल्मलाई १० करोड क्लबमा पुर्याउने पहिलो अभिनेता समेत बनेका छन् ।
लगातार दुई फिल्म सफल भएपछि दयाहाङलाई ‘बक्स अफिसका महानायक’ भन्न थालिएको छ । तर, यो उपाधि आफ्नो लागि एकदमै भारी हुने उनको भनाइ छ । उनी भन्छन्, ‘यो मेरो लागि भारी हुन्छ । फिल्म भनेको कहिले चल्छ कहिले चल्दैन । मेरा धेरै फिल्म चलेका पनि छन् र धेरै व्यावसायिक रूपमा असफल पनि भएका छन् । यसैले यस्तो उपाधितिर नजाऊँ ।’

