
आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार निर्माण पक्षले युट्युबमार्फत तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । फिल्मका मुख्य जोडी विपिन कार्की र केकी अधिकारीलाई केन्द्रमा राखिएको ट्रेलरले उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।
ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रको रूपमा प्रस्तुत छन् । टुहुरा काजीले विवाहपछि श्रीमती (केकी)लाई गर्ने माया र विश्वास नै फिल्मको मूल कथा देखिन्छ । वैवाहिक सम्बन्ध जोगाउन कजिनीले बोलेको एउटा झुटले भने कथामा नयाँ मोड लिने ट्रेलरले संकेत गर्छ । तपाईंलाई पारिवारिक प्रेमकथामा आधारित फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, रोजी श्रेष्ठ, प्रशंसा सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा गरिमाले विपिनकी सालीको भूमिकामा अभिनय गरेकी छन् ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ ।

