.jpg)
चर्चित गीतकार, फिल्म निर्माता तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको शुक्रबार सार्वजनिक दुई पोस्टरले कथावस्तु र पात्रहरूको चरित्रचित्रणबारे प्रकाश पारेको छ ।
दुईमध्ये एक पोस्टरमा फिल्मका मुख्य जोडी अरुण क्षेत्री र सिम्रन खड्का दुलहा–दुलहीको भेषमा देखिएका छन् । कम्मरमा बाँधिएको पटुकीमा गुलेली सिउरिएका अरुणको शारीरिक हाउभाउले उनी कुनै स्वास्थ्य समस्यासँग जुधिरहेको अनुमान गर्न सकिन्छ । सिम्रन भने घुम्टोभित्र निराश देखिएकी छन् । उनको विवाह परिवारको दबाबमा भएको स्पष्ट संकेत पोस्टरले गर्छ ।
अर्को पोस्टरमा भने सिम्रन मात्र देखिएकी छन् । उनी खाली खुट्टा डोकोमा स्याउला बोकेर किताब पढ्दै हिँडिरहेकी छन् । यसले पढाइप्रति उनको लगावलाई दर्शाउँछ । विवाहपछि पनि शिक्षा हासिल गर्ने आफ्नो लक्ष्यप्रति उनको पात्र अडिग रहेको भाव पोस्टरले व्यक्त गरेको छ । समग्रमा दुई पोस्टरले एक युवतीको जिम्मेवारी र इच्छाको कथालाई देखाउन खोजेको छ ।
डा. भोला रिजालको कथा रहेको यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्मातामा सरला रिजाल छिन् । डा. कपिल रिजाल र सुमन गिरी निर्माताको रूपमा छन् । फिल्ममा शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठले सम्पादन तथा एलिस कार्कीको पार्श्व संगीत रहेको छ ।

