
अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले फिल्मका दुईवटा पोस्टर दर्शकमाझ ल्याएको हो । नीता ढुंगाना र अशोक दर्जीलाई केन्द्रमा राखिएको पोस्टरले फिल्मको कथावस्तु र पात्रहरूको मनोदशा दर्शाएको छ ।
दुईमध्ये एक पोस्टरमा नीता मात्र चित्रित छिन् । उनी विद्यालयमा पढिरहेकी देखिन्छिन् । उनको पात्र मानसिक र शारीरिक रूपमा अशक्त रहेको देखिन्छ । अर्को पोस्टरमा अशोकले नीतालाई आफ्नो पिठ्यूँमा बोकेको देख्न सकिन्छ । उनीहरू दिदी-भाइजस्ता देखिन्छन् । सार्वजनिक दुई पोस्टरले फिल्मको कथा एक अशक्त युवतीको सपना र संघर्षमा आधारित रहेको संकेत गर्छ ।
जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता ज्योतिष हरिहर अधिकारी हुन् ।
फिल्ममा नीता ढुंगानाको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत तथा एलिस कार्कीको पार्श्व संगीत रहेको छ । फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

