
गत वर्षको सफल फिल्म ‘जेरी अन टप’की निर्मात्री भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मका कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामरा, स्क्रिप्ट र क्ल्याप पूजा गरियो । फिल्मको छायांकन भने अर्को सातादेखि सुरु हुने जनाइएको छ ।
भविष्य फिल्म्स र थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई शंकर कार्कीले निर्देशन गर्नेछन् । तेजविक्रम केसी कार्यकारी निर्माता रहेको फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकालको मुख्य भूमिका रहनेछ । फिल्ममा वर्षा र महेश जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ ।
महिलाप्रधान कथावस्तुमा बन्न लागेको यस फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने ‘बिटी कान्छा’को उपनामले परिचित विश्वास तिमल्सेनाको पटकथा रहेको छ । फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ । नरेन्द्र मैनाली छायाँकारको रूपमा छन् । फिल्मलाई तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
मुहूर्त कार्यक्रममा प्रियंका र वर्षाले ‘टिका’ आफूहरूको करिअरकै एक विशेष फिल्म रहेको बताए । प्रियंकाले भनिन्, ‘मेरो जीवनका लागि यो फिल्म, यो यात्रा र मेरो पात्र सबै विशेष छ । जुन विषयवस्तुमा कथा तयार गरेर यो फिल्म बन्दैछ, सायद आजसम्म नेपाली फिल्ममा प्रस्तुत नगरिएको र नदेखाइएको कथा हो । यसैले फिल्मलाई लिएर म उत्साहित छु ।’

