
नेपालमा सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्म ‘मालती मंगले’को अब विदेश प्रदर्शन यात्रा सुरु हुने भएको छ । यो फिल्म अमेरिका र क्यानडामा प्रदर्शन हुन लागेको हो । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा भोलि शुक्रबारदेखि अमेरिकाको बक्स अफिसमा दैनिक शोसहित फिल्म प्रदर्शन हुनेछ ।
नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, कोलम्बस, अस्टिनलगायतका प्रमुख सहरका हलहरूमा फिल्म रिलिज हुने जानकारी दिए । उनका अनुसार केही दिनअघि खुला भएको अग्रिम टिकट बुकिङ उत्साहजनक देखिएको छ । नेपालको प्रतिक्रिया र ‘झ्याम पारम’ गीतले अमेरिकामा फिल्मप्रति दर्शकको उत्साह बढाएको उनले बताए ।
अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन हुन लागेको यस फिल्मको क्यानडाका लागि पनि प्रदर्शन अधिकार बिक्री भइसकेको छ । आँगन इभेन्ट्सले क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो । क्यानडामा फिल्म चाँडै प्रदर्शन गरिने जनाइएको छ । फिल्मको अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्री हुने क्रममा रहेको निर्माता रामकृष्ण ढकालले बताए ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । विशेष भूमिकामा अभिनेता सरोज खनाल पनि छन् । ग्रामीण परिवेशमा आधारित यस फिल्मले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।

