
विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने ‘बर्लिन फिल्म फेस्टिभल’को ७४औं संस्करण बिहीबारदेखि जर्मनीको राजधानी बर्लिनमा भैरहेको छ । अमेरिकी फिल्म ‘शे कम टु मी’बाट उद्घाटन भएको बर्लिनको रेड कार्पेटमा एनी हाथावे, पीटर डिंकलेज, गुलशीफ्ता फराहानी, विकी क्रिप्स, अल्ब्रेच्ट शुच, म्यारिसा तोमाई लगायतका कयौं विश्व प्रख्यात सेलिब्रेटीहरुले फेसनको जादू छरेका थिए ।

गत वर्षको सफल हलिउड फिल्म ‘ओपेनहाइमर’ले एकपछि अर्को प्रतिष्ठित अवार्डमा आफ्नो वर्चस्व बनाइरहेको छ । गोल्डन ग्लोब अवार्ड्सपछि अब बाफ्टा अर्थात् ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि यो फिल्मले बाजी मारेको छ । यसले ७ वटा विधामा अवार्ड जितेको छ । १३ विधामा मनोनित भएको फिल्मले सर्वोत्कृष्ट फिल्मदेखि निर्देशक-अभिनेतासम्मको अवार्ड जित्न सफल भएको हो ।

‘जंगल वार’मा आधारित पहिलो नेपाली फिल्म ‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लम्बाईको ट्रेलरमा गोर्खा सैनिकले युद्धमा देखाएको बहादुरी, लडाईंको क्रममा भोग्नुपर्ने दुःख, सैनिकको पारिवारिक अवस्था, ७०/८० वर्ष अगाडिको नेपाली सामाजलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेम र कमेडी पनि मिश्रित छ । समग्रमा फिल्मको दोस्रो ट्रेलर सशक्त देखिन्छ ।

अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन् । उनी पेशाले विमान चालक (पाइलट) हुन् । सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन् । सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ । कुनै बेलाका लङ टेनिसको राष्ट्रिय स्तरको खेलाडी समेत हुन्, उनी । अब उनी पेशाबाट विश्राम लिएर राजनीतिमा आउने भएका छन् ।

बलिउड फिल्ममा नेपाली कलाकारको उपस्थिति बढ्दो छ । मनिषा कोइराला, सुनिल थापा, भोलाराज सापकोटा, झरना बज्रचार्य लगायतले हिन्दी फिल्ममा काम गरिसकेका छन् । तथापि, मनिषा जत्ति बलिउडमा अरु स्थापित हुन सकेनन् । अब चाँडै अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’बाट बलिउडमा डेब्यू गर्दैछन् भने अभिनेत्री बेनिशा हमाल पनि बलिउड फिल्ममा देखिने भएकी छन् ।

यही फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको जंगल वारमा आधारित पहिलो नेपाली फिल्म ‘गोर्खा वारियर’को धरानमा प्रिमियर गरिएको छ । प्रायः फिल्मको काठमाडौं केन्द्रित प्रिमियर हुने गरेको भए पनि निर्देशक मिलन चाम्सले फिल्मको कथावस्तुअनुसार नेपालमा पहिलो प्रिमियर धरानमा गरेका हुन् । किनकि, धरान लाहुरेको सहर हो । र, फिल्मले उठाएको कथा पनि लाहुरेको हो ।

