
काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक गरिएको छ । लोक शैलीको यस गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत निर्देशन छ भने एसडी योगी र गीताञ्जली थापा मगरले स्वर दिएका छन् । सुरेन्द्र र एसडीले यसअघि सहकार्य गरेको ‘रुकुम मैकोट’ गीत दर्शकमाझ निकै चर्चित छ ।
गीतको भिडियोमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम ताप्देनले मगर समुदायको परम्परागत पहिरनमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा उनीहरूबीचको प्रेम र आकर्षणलाई देखाइएको छ । सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको संयुक्त कोरियोग्राफी रहेको भिडियोलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् ।
अशोक थापा मगरको निर्देशनमा बनेको यस फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधर, कर्मा सिंह लामालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा रहेका छन् । फिल्मले मगर समुदायको सांस्कृतिक प्रतीक (ढुंगाको स्तम्भ)लाई केन्द्रमा राखेर प्रेमकथा प्रस्तुत गरेको छ ।

