Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो जीवनमा आधारित फिल्म कहिल्यै बन्ने छैन : सलमान खान

एजेन्सी, काठमाडौं, 2026/10/15

salman khan pic

 

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो जीवनमा आधारित फिल्म कहिल्यै नबन्ने बताएका छन् । उनले आफ्ना व्यक्तिगत अनुभवलाई निजी नै राख्न चाहेको स्पष्ट पारेका छन् । निर्देशक करण जोहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विथ करण’को नवौँ सिजनमा अतिथिको रूपमा पुगेका उनले एक प्रसंगमा आफ्नो बायोपिक नबन्ने जिकिर गरेका हुन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा कपूरले सलमानलाई उनको जीवनमा आधारित फिल्म बनाउनुपरे कुन निर्देशकलाई रोज्ने भनेर सोधेकी थिइन् । सलमानले फरक–फरक शैलीका फिल्मका लागि डेविड धवन, सञ्जय लीला भन्साली, सूरज बडजात्या र कबिर खानको नाम लिए पनि आफ्नो जीवनमा आधारित फिल्म भने कहिल्यै बन्न नदिने स्पष्ट पारे ।

उनले भने, ‘यदि मेरो जीवनमा आधारित कमेडी फिल्म बनाउन चाहनुहुन्छ भने डेविड धवन, परम्परागत दुःखान्त प्रेमकथा बनाउन चाहनुहुन्छ भने सञ्जय लीला भन्साली, एउटा सुन्दर प्रेमकथापछि अर्को प्रेमकथा देखाउन चाहनुहुन्छ भने सूरज बडजात्या र मेरो जीवनमा भएका विभिन्न घटनाक्रमलाई समेटेर एक्सनप्रधान प्रेमकथा बनाउन चाहनुहुन्छ भने कबिर खान ।’

तर, सलमानले जुनसुकै निर्देशकलाई पनि आफ्नो जीवनमा आधारित फिल्म बनाउन अनुमति नदिने बताए । ‘यति बुझिराख्नुस्, मेरो जीवनमा आधारित बायोपिक कहिल्यै बन्ने छैन । मेरा जीवनका कथा मसँगै चिहानमा जानेछन् । नत्र धेरै पुराना चिहानहरू खुल्नेछन्,’ उनले भने । आफूलाई आत्मकथा लेख्ने इच्छा पनि नरहेको उनले स्पष्ट पारेका छन् ।

‘कफी विथ करण’मा सलमानले अविवाहित रहने निर्णय र सन्तानको चाहनाबारे पनि जवाफ दिएका छन् । उनले आफूलाई जीवनसाथी बनाउन कसैले नरोकेको बताए । तर, आफू अहिलेकै अवस्थामा एकदमै खुसी रहेको उनको भनाइ छ । आफ्नै सन्तानको अभाव महसुस हुन्छ कि हुँदैन भन्ने करणको प्रश्नमा सलमानले कुनै न कुनै समयमा आफ्नो सन्तान हुने बताए ।