Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा भिडे पल र समीरका फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/10/16

aa bata aama 2 and 12 gau 2

 

काठमाडौं । भोलि शनिबार (फूलपाती)बाट औपचारिक रूपमा दसैं सुरु हुँदैछ । यसपटक दसैंमा शनिबार र आइतबारसहित ९ दिन लामो विदा छ । सम्भवतः दसैंमा यो अहिलेसम्मकै लामो बिदा हो । यही लामो बिदाका कारण यसपालि दसैंमा फिल्म रिलिजको चाप पनि उच्च छ । शुक्रबार (आज)बाट दसैं नसकिँदासम्म चारवटा फिल्म हलमा प्रदर्शन हुँदैछन् । 

दसैंका चार फिल्ममध्ये ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् । यी दुवै फरक विधामा बनेका फिल्म हुन् । ‘आ बाट आमा २’ पारिवारिक फिल्म हो भने ‘१२ गाउँ २’ एक्सनप्रधान । त्यसैले दुवैका लक्षित दर्शक पनि फरक छन् । अब आफ्ना लक्षित दर्शकलाई हलसम्म तान्न यी फिल्म कति सफल हुन्छन्, त्यसले दुवैको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।

दुवै फिल्म सिक्वेल भएकाले देशभरका हलहरूले पर्याप्त शो उपलब्ध गराएका छन् । यद्यपि, शो संख्यामा ‘आ बाट आमा २’ अगाडि देखिन्छ । यसले देशव्यापी १८१ शो पाएको छ । ‘१२ गाउँ २’को शो संख्या भने १५४ छ । तर, बुकिङमा दुवै फिल्म औसत देखिएका छन् । एकाध शोमा बाहेक दुवै फिल्मका टिकट अपेक्षित रूपमा बिक्री भएका छन् ।

चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको ‘आ बाट आमा २’मा विपना थापा, स्व. प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडा, हेमराज अधिकारीलगायतका कलाकारहरूको अभिनय छ । फिल्मको कथा आमा र सन्तानबीचको सम्बन्धमा केन्द्रित छ ।

त्यस्तै, बदलाको कथामा आधारित ‘१२ गाउँ २’मा विराज भट्ट, समीर भट्ट, अनुप विक्रम शाही, कृशु शाही, खुशी कार्की, वर्षा इटानी, प्रकाश शाह, सुनिल पोखरेललगायतले अभिनय गरेका छन् । विराज स्वयंको निर्देशन रहेको फिल्मलाई सरस्वती भट्टले निर्माण गरेकी हुन् । यो फिल्मको पहिलो भागले बक्स अफिसमा झन्डै २० करोडको व्यापार गरेको थियो ।