मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’को सानदार सुरुवात, शोजमा भारी वृद्धि

फिल्मीखबर, काठमाडौं, 2024/04/26

नेपालमा सिक्वेल/सिरिज वा ठूलो स्टारकास्ट भएका फिल्मको मात्र उत्साहजनक ओपनिङ हुन्छ भन्ने भाष्य बनेको छ । यो प्रमाणित कुरा पनि हो । तर, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’मा यी कुनै तत्व छैन । यसका बावजूद पनि फिल्मले घरेलु बक्स अफिसमा सानदार सुरुवात गरेको छ । शुक्रबार फिल्मले ठूलो दर्शकलाई हलसम्म तान्यो । धेरै शोज हाउसफुल समेत भए ।

फिल्मले पहिलो दिन देशभर झन्डै दुई सय शोज पाएको थियो । प्रायःमा दर्शक अकुपेन्सी उच्च रह्यो । बिहानी शोजमा ४० प्रतिशत हाराहारी अकुपेन्सी रहेकोमा दिउँसो र रात्रिकालिन शोजमा ७० देखि ७५ प्रतिशतसम्म पुग्यो । यो फिल्मको अगाडि शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘रुस्लान’ समेत छायाँमा परेको छ । विशेषगरी फिल्मले महिला दर्शकलाई हलसम्म तानेको छ ।

‘बोक्सीको घर’ले सानदार सुरुवात गर्नुमा ‘बुझिनँ मैले’ गीतको ठूलो प्रभाव देखिन्छ । किनकि, यो गीत अहिले सर्वाधिक चर्चित छ । युट्युबमा मात्र ९२ लाख बढी भ्यूज पाइसकेको छ । शुक्रबार हल पुग्ने धेरैजसो दर्शकलाई गीतले नै तानेको थियो । फिल्मको टिम शुक्रबार प्रतिक्रिया बुझ्न सुन्धारास्थित सिभिल हल पुग्दा दर्शकहरु गीतमा छमछम नाचेका थिए । यसले पनि गीतको प्रभाव बोल्छ ।

 

boksi ko ghar


शुक्रबारको अकुपेन्सीलाई मध्यनजर गर्दै ठूला मल्टीप्लेक्सहरुले फिल्मको शोजमा भारी वृद्धि गरेका छन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार आफ्नो देशभरको ९ वटा स्टेशनमा ५६ शोज दिएकोमा शनिबारका लागि २४ शोज बढाएर ८० शोज पुर्‍याएको छ । अन्य मल्टिप्लेक्समा पनि शोजमा वृद्धि देखिन्छ । यसरी हेर्दा शनिबार फिल्मको व्यापार थप आक्रामक हुनसक्छ ।

शुक्रबार दिनभर फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारी दर्शक प्रतिक्रिया बुझ्न काठमाडौंका विभिन्न हलमा पुगेकी थिइन् । फिल्मले दर्शकको उत्साहजनक साथ पाउँदा उनको अनुहारमा खुसीको भाव देखिन्थ्यो । तर, रिलिजअघि गाह्रो कथा उठाएकाले के होला भन्ने डरले सताएको उनले अनुभव सुनाइन् । अहिले दर्शकले राम्रो भनिदिँदा मिहिनेत सफल भएको उनको भनाई थियो ।

रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकीसहित सुपला सापकोटा (बाल कलाकार), श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोला आदिको अभिनय छ । दर्शकले सुपलाको अभिनय विशेष रुचाएका छन् । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको निर्मातामा बद्री अधिकारी तथा कार्यकारी निर्मातामा राज घिमिरे छन् ।