
उदीयमान भारतीय गायक अंकित तिवारीले नेपालमा कन्सर्ट गर्ने भएका छन् । आउँदो अक्टोबर ३ अर्थात असोज १६ गतेका दिन जावलाखेल फुटबल मैदानमा अंकितले कन्सर्ट गर्न लागेको आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गरायो । होटल सांग्रिलामा भएको पत्रकार सम्मेलनमा बोल्दै कन्सर्ट आयोजक नासिर हुसेनले अंकितलाई गत मे महिनामै ल्याउने तयारी रहेको भएपनि भूकम्पका कारण पछि सरेका बताए ।

फिल्म ‘रेन्जर’को केही समय अगाडि काठमाण्डौमा तामझामका साथ मुहुर्त गरियो । तर, यो फिल्म अब बन्दैन भन्दा हुन्छ । ठूलै लगानी गर्ने र स्तरिय फिल्म बनाउने भन्दै यसका निर्माता र निर्देशकले कुरा गरे । तर, फिल्म बनेन । यसकी अभिनेत्री सौजन्य सुब्बा बिहे गरेर अमेरिका पुगिसकेकी छिन् । फिल्मले नेपाली सेनाको कथा उठाउने बताइएको थियो ।

नेपाली फिल्ममा अहिले मधेसी पात्रको दमदार उपस्थिति देखिन थालेको छ । दर्शकले पनि मधेसी लबज बोल्ने पात्र र त्यतैबाट टिपिएका कथालाई रुचाएको पाइन्छ । संयोगवश आजभोलि हलमा चलिरहेका ‘भैरव’, ‘रेशम फिलिली’ र ‘‘होस्टेल रिटन्र्स’ तीनै फिल्म मधेशी पात्रको उपस्थिति देखिन्छ । मधेशमा आगो बलिरहँदा बक्स अफिसमा भने उनीहरुका फिल्मले राम्रो कमाई गरिरहेका छन् ।

पर्दामा फेरि एकसाथ देखिन लागेका अभिनेता सैफअली खान र अभिनेत्री कट्रिना कैफको फिल्म रोकिएको छ । यो फिल्म रोकिनुको मुख्य कारण ‘दृष्यम’को प्रदर्शनलाई मानिएको छ । सैफ र कट्रिनाको यो फिल्म र अजय देवगणले भर्खरै काम गरेको फिल्मको कथा उस्तै भएकाले रोकिएको स्रोतको दाबी छ ।

निखिलको उप्रेतिको कमव्याक मानिएको फिल्म ‘भैरव’ले दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको छ । फिल्म वितरकहरुले दुई दिनमै करोडको आँकडा छोएको बताएका छन् । काठमाडौं र मोफसलका केही ठाउँमा मात्र रिलिज भएको फिल्मबाट भएको कमाईलाई कीर्तिमानी मानिएको छ ।

अभिनयमा व्यस्त अभिनेत्री प्रियंका कार्कीले आफ्नो आवाजमा नयाँ गीत रेकर्ड गराएकी छिन् । उनले बच्चु कैलाशको आवाजमा पहिले नै रेकर्ड भएको ‘तिम्ले त हैन’ बोलको गीतलाई पुनः गाउँदै गायनमा निरन्तरता दिन लागेकी हुन् । भिडियो समेत बनेको गीतलाई क्षेत्रप्रताप अधिकारीले लेखेका हुन् भने गीतमा संगीत नातिकाजीको रहेको थियो ।

