.jpg)
काठमाडौं । भारतको बहुप्रतिक्षीत फिल्म ‘रावायण: पार्ट वान’ बिहीबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । नेपालमा समेत उच्च शोसहित प्रदर्शन भएको फिल्मले २ करोडमाथिको ओपनिङ गर्ने अनुमान गरिएको छ । बिहीबारका अधिकांश शोमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ । शनिबारका शोमा समेत दर्शकको चाप बढ्दै गएको छ ।
तर, नेपालका केही हलमा भने फिल्म रिलिज भएको छैन । त्यसको मुख्य कारण ‘२के’ प्रविधि जडान नहुनु हो । बुझिएअनुसार भारतबाट फिल्मका ‘२के’ र ‘४के’ रिजोल्युसनका फाइल मात्रै पठाइएको छ । निर्माता कम्पनीले ‘२के’ प्रविधि जडान नभएका हलमा फिल्म नै रिलिज नगर्ने अडान लिएपछि नेपालका ३० भन्दा बढी हल ‘रावायण’ प्रदर्शनबाट बञ्चित भएका हुन् ।
काठमाडौंमा सञ्चालित प्रायः मल्टीप्लेक्स हल ‘२के’ प्रविधियुक्त भए पनि बनेपा, दाङ, चितवन, दमक, बुटवल, सर्लाहीलगायतका केही मल्टीप्लेक्स र सिंगल थिएटरमा यो प्रविधि जडान छैन । जसले गर्दा स्वदेशी र विदेशी फिल्म अझै पनि एचडी प्रविधिमा देखाइन्छ, जसमा रिजोल्युसन निकै कम हुन्छ । यो प्रविधिमा फिल्म हेर्दा दृश्य स्पष्ट बुझिँदैन ।
नेपालमा ‘२के’ प्रविधिका हलमा मात्र ‘रावायण’ रिलिज भएपछि नेपाली फिल्मका निर्माताले पनि यो विषयमा आवाज उठाउन थालेका छन् । ‘छ माया छपक्कै २’का निर्माता रोहित अधिकारीले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै नेपाली फिल्म पनि अब कम्तीमा ‘२के’ वा त्योभन्दा माथिको क्वालिटीमा देखाउनुपर्ने बताएका छन् ।
तर, रोहितको भनाइमा हल व्यवसायी तथा निर्माता प्रदीप कुमार उदय भने सहमत छैनन् । ‘२के’ प्रविधिमा मात्र फिल्म प्रदर्शन गर्नुपर्ने नियम बनाए वास्तविक दर्शक भएका ठाउँमा नयाँ सिनेमा हल नै नखुल्ने उनको तर्क छ । ‘२के’ प्रोजेक्टर निकै महँगो पर्ने उल्लेख गर्दै उनले फिल्म राम्रो नबनाए जुनसुकै प्रविधिमा खिचिए पनि नचल्ने जिकिर गरेका छन् ।

