काठमाडौं । आगामी मंसिर ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को पहिलो गीत ‘मयाली’ सार्वजनिक गरिएको छ । बागलुङ र म्याग्दीका केही क्षेत्रमा प्रचलित मयाली लोक भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र रचना रिमालको स्वर छ । प्रशान्त स्वयंको शब्द तथा संगीत रहेको गीतमा युवायुवतीबीचको प्रेमभावलाई समेटिएको छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा उनीहरूको केमेस्ट्री सुन्दर देखिएको छ । गोपाल रायाको उत्कृष्ट छायांकन, कलाकारको मौलिक पहिरन र प्राकृतिक सौन्दर्यका मनमोहक दृश्यले भिडियोलाई जीवन्त बनाएको छ ।
कुमार गजुरेलको निर्देशन रहेको फिल्ममा गिरि र गायत्रीसहित निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाललगायतको पनि अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम दुई दशकपछि एकसाथ देखिन लागेका हुन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत छ ।

