
काठमाडौं । नेपाली अभिनेता अनुप विक्रम शाहीको डेब्यू बलिउड फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पीस’ डिसेम्बर ४ (१८ मंसिर)मा रिलिज हुँदैछ । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको फिल्ममा अनुपले चिनियाँ जनमुक्ति सेनाका मेजरको भूमिकामा अभिनय रहेका छन् । सलमानसँग उनको १३ मिनेट लामो एक्सन सिन रहेको बताइएको छ ।
शुक्रबार मुम्बईमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रमका सहभागी हुन नेपालबाट अनुप पनि पुगेका छन् । कार्यक्रम सुरु हुनुअघि सलमानसहित फिल्मका मुख्य कलाकारहरू फोटो सेसनमा सहभागी भएका थिए । त्यस क्रममा अनुपले सलमानको खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा देखिएअनुसार अनुपलाई देख्नासाथ सलमानले हात अगाडि बढाउँछन् । अनुप भने सिधै सलमानको खुट्टा छुन पुग्छन् । त्यसबेला सलमान एक व्यक्तिसँग कुरामा अलमलिरहेका हुन्छन् । जब अनुप अंकमाल गर्न अगाडि सर्छन्, तब सलमानले पनि हार्दिकता देखाउँछन् । त्यसबेला उनीहरूबीच दोहोरो कुराकानी भएको भने देखिँदैन ।
तर, अर्को एक भिडियोमा सलमान अनुपसँग कानेखुसी गरिरहेका देखिन्छन् । त्यसबेला अनुपको हाउभाउ हेर्दा सलमानले उनको प्रशंसा गरेको अनुमान गर्न सकिन्छ । किनभने सलमानले बोलिरहँदा अनुपले दुई पटक छातीमा हात राख्दै धन्यवाद व्यक्त गरेका छन् । सलमानसँग उभिँदा उनी निकै ‘नर्भस’ भएको पनि भारतीय मिडियाले सार्वजनिक गरेका भिडियोमा प्रस्ट देखिन्छ ।
केही समयअघि अनुपले एक अन्तर्वार्तामा सलमान खानसँग काम गर्न पाउनु आफ्नो जीवनकै कहिल्यै नमेटिने पल भएको बताएका थिए । उनले भनेका थिए, ‘जसलाई मैले बच्चादेखि पर्दामा हेर्दै आएको थिएँ, उहाँसँगै एउटै फिल्ममा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । यो मेरो जीवनमा कहिल्यै नमेटिने पल हो ।’

