
२०७९ सालमा सर्वाधिक कमाइको कीर्तिमान बनाएको फिल्म ‘जारी’को दोस्रो श्रृंखला कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । सफल फिल्मको सिक्वेल भएकाले हरेक उमेर समूहका दर्शकमा ‘जारी २’प्रति उच्च चासो र उत्सुकता देखिएको छ । दुई दिनअघि सार्वजनिक ट्रेलरले त्यसमा थप उत्साह भर्दै दर्शकहरूको पर्खाइ अझ बढाएको छ ।


गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ट्रेलरले गायक दर्जीको संघर्ष र सफलताको कथा पेश गरेको छ । बाल्यकालमा पैसाका लागि सडकमा गीत गाउने अवस्थाबाट चर्चित गायक बन्ने यात्रासम्मको घटनाक्रमलाई यसमा समेटिएको छ ।

भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’को ५ दिनको व्यापारिक आँकडा निर्माताले सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक एक पोस्टरमा फिल्मको व्यापार २ करोड उल्लेख छ । तर, सरकारी निकाय चलचित्र विकास बोर्डले हालसम्म यो फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक नगरेकाले यसको आधिकारिक तथ्यांक भने पुष्टि हुन बाँकी छ ।

धिराज राजवंशीको लेखन तथा निर्देशनमा फिल्म ‘हिमालयन गोल्ड’ बन्ने भएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको घोषणा गरियो । आगामी नोभेम्बर (मंसिर)देखि छायांकन सुरू हुने यो फिल्म हिमाली क्षेत्रको कथामा बन्न लागेको हो ।

यो वर्षको दशैं र तिहारमा फिल्म रिलिजको चाप उच्च रह्यो । यी दुई पर्वलाई लक्षित गर्दै १५ दिनको अन्तरालमा सातवटा फिल्म प्रदर्शनमा आए । दशैंमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’बीच प्रतिस्पर्धा हुँदा तिहारमा ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, र ‘मैझारो’ प्रदर्शन भए । तर, यी सात फिल्ममध्ये ‘जेरी अन टप’ले मात्र बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ ।

