Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीमा हुने

फिल्मीखबर, काठमाडौं, 2026/04/05

nirruf

 

ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरू भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण मधेश प्रदेशको मुटु मानिने सर्लाही जिल्लामा आयोजना हुने भएको छ । आगामी बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा महोत्सव गरिने तय भएको आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानले जनाएको छ । 

‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराईमा हुन लागेको हो । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ग्रामीण कथा र मधेशको संस्कृतिमा केन्द्रित फिल्मलाई प्रवर्द्धन गर्न यसपटक सर्लाही जिल्लामा महोत्सव गर्न लागिएको हो । 

महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी फिल्मको आवेदन परेको जनाइएको छ । तीमध्ये निर्णायक मण्डलबाट छनोट भएका फिल्महरू महोत्सवमा प्रदर्शन हुनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । महोत्सवमा प्रदर्शन हुने फिल्म दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।

नेपाली मौलिक फिल्मप्रति दर्शकको आकर्षण बढाउनु, दर्शकमा नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु, स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए । पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा उँचो बनाएको उनको दाबी छ ।

Most Visited News (monthly)