
नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शन हुन लागेको एक्सनप्रधान फिल्म ‘राम नाम सत्य’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । बिहीबार सार्वजनिक भएको ट्रेलर विश्वव्यापी रूपमा युट्युबको ट्रेन्डिङमा पर्नुले फिल्म हेर्न दर्शक अधैर्य रहेको देखाउँछ । अहिले फिल्मको ट्रेलर नेपालसहित १० वटा देशमा ट्रेन्डिङमा देखिएको छ ।
नेपालमा फिल्मतर्फको ट्रेन्डिङ चार्टको शीर्षस्थानमा रहेको ट्रेलर कतार, मलेशिया, रोमानिया, साउदी अरब, यूएइ, मलेशिया, जापान, अष्ट्रेलिया र साउथ कोरियामा समेत ट्रेन्डिङको शीर्ष २० भित्र परेको छ । विश्वव्यापी रूपमा ट्रेन्डिङमा परेको ट्रेलरलाई युट्युबमा भ्यूज पनि लोभलाग्दो देखिएको छ । यो समाचार तयार पार्दासम्म १५ लाखभन्दा बढीले ट्रेलर हेरिसकेका छन् ।
ट्रेलरलाई युट्युबमा दर्शकीय प्रतिक्रिया पनि उत्साहजनक देखिन्छ । प्रायःले विराज भट्टको एक्सन र संवाद मन पराएका छन् भने यही फिल्मबाट डेब्यू गरेका टिकटक स्टार आयुष सिंह ठकुरीलाई लिएर दर्शकले उत्साह व्यक्त गरेका छन् । युट्युबमा सबैभन्दा धेरै प्रतिक्रिया आयुषकै नाममा आएको छ । कतिपयले उनलाई ट्रेलरमा कम ‘स्पेस’ दिइएकोमा असन्तुष्टि समेत जनाएका छन् ।
‘राम नाम सत्य’को ट्रेलर दर्शकले रूचाइरहँदा यसमा समावेश ‘धागोले बाटेको’ गीत लोकप्रिय भइसकेको छ । यो गीतमा लाखौंको संख्यामा टिकटक, रिल्स र सर्टस् बनेका छन् भने युट्युबमा भ्यूज ६० लाख नाघिसकेको छ । फिल्ममा समावेश अर्को गीत ‘हुम्लाको सिमी’लाई पनि दर्शकले रूचाएका छन् । यसरी हेर्दा फिल्मप्रति दर्शकमा ठूलो उत्साह देखिन्छ ।
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ, सन्तोष सरकार लगायतको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।

