.jpg)
हास्य कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । बलात्कारको आरोपमा शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई आइतबार दिउँसो हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएपछि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय पुर्याइएको थियो ।
शुक्रबार अमेरिका बस्ने विष्ट थरकी एक युवतीले सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसकै आधारमा प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । पीडितको तर्फबाट अहिलेसम्म आधिकारिक उजुरी भने परेको छैन । यसैले प्रहरीले उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी ती युवतीले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् । उनले सागरलाई फेसबुकमा मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन् ।
उनले आफूलाई बलात्कार गर्ने व्यक्ति अहिले घर फर्केर खुलेआम बाँचिरहेको उल्लेख गर्दै लेखेकी थिइन्, ‘आज अलिकति हिम्मत जुटाएर यो लेखेँ । मलाई थाहा छ- मैले न्याय पाउँदिन होला, र अब लड्ने शक्ति पनि बाँकी छैन । तर, जसले मलाई यति ठूलो अन्याय गर्यो, उसले त्यसको परिणाम भोग्नै पर्छ । भविष्यमा उसले अरू कसैलाई यस्तो गर्न पाउनु हुँदैन ।’

