
आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसर पारेर सोमबार युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथा र पात्रको संघर्षको झलक प्रस्तुत गरेको छ । अन्यायको विरुद्ध लड्ने पात्रको संघर्षलाई केन्द्रमा राखिएको टिजरमा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन् ।

फिल्म ‘सनम तेरी कसम’बाट चर्चामा आएका अभिनेता हर्षवर्धन राणेको नयाँ लभस्टोरी फिल्म ‘एक दीवाने की दीवानियत’ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । दीपावलीको अवसर पारेर २१ अक्टोबरबाट प्रदर्शनमा आएको यो फिल्मले ६ दिनमा नै लगानी सुरक्षित गरेर यस वर्षको हिट सूचीमा आफ्नो स्थान पक्का गरेको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जारी २’को ट्रेलर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक झन्डै चार मिनेट लामो ट्रेलरले श्रीमान्–श्रीमतीको झगडाले निम्त्याउने पारिवारिक जटिलतालाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान च्याब्रुङको महत्वलाई पनि केन्द्रमा राखिएको छ ।

दशैंको फूलपातीमा प्रदर्शन भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ अधिकांश हलबाट उत्रिसकेको छ । फिल्मले प्रदर्शनको तीन हप्ता भने राम्रो दर्शक पाएको थियो । त्यस अवधिमा फिल्मले ४ करोड ६० लाखको ग्रस व्यापार गर्यो । यसबाट निर्माताको हातमा बढीमा २ करोड पर्ने देखिन्छ । यतिमा फिल्मको लगानी भने सुरक्षित हुँदैन । किनकि, यो फिल्म ३ करोड ३७ लाखमा बनेको हो ।

भाइटीकाको दिन (कात्तिक ६ गते)बाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहँदा यसमा समावेश गीत ‘न्याउली वनैमा’ले युट्युबमा ठूलो उपलब्धि हासिल गरेको छ । गत असोज ८ गते रिलिज भएको यो गीतलाई एक महिनामा एक करोडभन्दा बढीले हेरेका छन् । युट्युबमा गीतको यो उपलब्धि टिकटकका कारण सम्भव भएको हो ।

यही कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परान’ले दर्शकको ध्यान आकर्षित गर्न नयाँ प्रचार अभियान सुरू गरेको छ । निर्माण पक्षले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरेको हो । यो प्रतियोगिताको पुरस्कार राशि १ लाख रुपैयाँ राखिएको छ ।

