.jpg)
नेपालमा निरन्तर फिल्म बनाउने निर्माताको संख्या निकै न्यून छ । धेरैजसो त एउटा फिल्म व्यावसायिक रूपमा असफल भएपछि यो क्षेत्रबाट सधैंका लागि टाढा हुन्छन् । तर, केही यस्ता निर्माता पनि छन्, जसले फिल्म निर्माणलाई नाफा र घाटाको रूपमा नहेरी यसलाई आफ्नो कर्म ठानेका छन् । र, निरन्तर फिल्म बनाइरहेका छन् । त्यसमध्ये एक हुन्, सुशील पोखरेल ।
लगभग तीन दशकदेखि फिल्म निर्माणमा सक्रिय सुशीलका ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्म व्यावसायिक रूपमा सफल मानिन्छन् । यसबाहेक पनि उनले ‘परदेशी’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभसब’, ‘राधे’, ‘यात्रा’ जस्ता फिल्म बनाएका छन् । ‘यात्रा’को असफलतापछि भने उनी करिब ७ वर्ष फिल्म निर्माणबाट टाढा रहे । त्यसको कारण व्यक्तिगत बाध्यता मानिएको छ ।
अब भने उनी फिल्म निर्माणमा फर्किएका छन् । बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’बाट उनको पुनरागमन भएको हो । उनले यो फिल्मलाई आफ्नो करिअरको दोस्रो अध्यायको रूपमा लिएका छन् । र, फिल्मप्रति उनी निकै आत्मविश्वासी देखिन्छन् । टिजरदेखि गीतसम्म दर्शकले रूचाएकाले उनको आत्मविश्वास अझ बढेको छ ।
आफूप्रति दर्शकको विश्वासलाई ‘परालको आगो’ले पनि कायम राख्ने दाबी गर्दै उनी भन्छन्, ‘यो पटक वाचा गर्छु कि सबैको मन जित्नेछु । किनकी, म पैसा कमाउन मात्र फिल्म बनाउँदिनँ, यो मेरो प्यासन हो । सुशील पोखरेलले सधैं राम्रो फिल्म बनाउँछ भन्ने छापको, आशाको र विश्वासको निरन्तरता ‘परालको आगो’बाट पनि कायम रहने वाचा गर्छु ।’
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा प्रकाश सपूत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद, संकल्प भुजेलको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

