
आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ दर्शकमाझ लोकप्रिय बनिसकेको छ । एक महिनामा गीतलाई युट्युबमा मात्र १ करोड भ्यूज मिलेको छ भने यसमा लाखौंको संख्यामा टिकटक, रिल्स र सर्टस् बनेका छन् । फिल्मको पहिलो गीत नै हिट भएपछि आइतबार दोस्रो गीत सार्वजनिक गरिएको छ ।
‘मायालाई के दिऊँ म बैना’लाई युट्युबमा एक करोड पटक हेरिएको खुसीयालीमा निर्माण पक्षले केक काट्दै ‘मिठो संसार’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो । समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको यस गीतमा शब्द तथा संगीत जयन जे वाइवाको छ । गीतको लिरिकल भिडियोमा फिल्मका चल–अचल दृश्यहरू समेटिएका छन् ।
फिल्मका लेखक तथा निर्देशक यम थापाले ‘मिठो संसार’ गीत फिल्मको कथासँग जोडिएको बताए । यो फिल्मको महत्त्वपूर्ण गीत रहेको बताउँदै उनले भने, ‘गीतमा आमा-छोरीबीचको प्रेम देखाइएको छ । छोरीप्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ । फिल्ममा यो गीतले कथावाचनलाई मर्मस्पर्शी बनाएको छ ।’
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा स्वस्तिमा खड्का, समाइरा थापा, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।

