
आगामी चैत २७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डा. डीआर उपाध्याय खनालको शब्द रचना तथा गायक गिरीको संगीत छ । एकअर्काको मायामा समर्पित जोडीको भावनालाई गीतमा प्रस्तुत गरिएको छ ।


फिल्म ‘जेरी अन टप’को नामदेखि कलाकार परिवर्तनको विवाद जगजाहेर छ । फिल्मको पोस्टर फोटोसुटमा नआएको भन्दै निमाण पक्षले अभिनेत्री आना शर्मालाई हटाएर उनको ठाउँमा जसिता गुरुङलाई अनुबन्धित गरेको थियो । आनालाई फिल्मबाट हटाउँदै गर्दा यसका निर्माता सरोज न्यौपानेले उनले व्यावसायिकता नदेखाएको आरोप लगाएका थिए ।

यस वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको फिल्म ‘मोहर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । शुक्रबार निर्माता कम्पनी फिल्ममेकर्स प्रालिले थिम पोस्टर सार्वजनिक गर्दै ‘मोहर २’को निर्माण घोषणा गरेको हो । यस फिल्मलाई ओम प्रतीकले निर्देशन गर्नेछन् भने प्रस्तुतकर्तामा चुम्बन जंग शाही रहनेछन् । फिल्मको छायांकन अर्को वर्षको मध्यतिर हुने जनाइएको छ ।

पर्यटकीय नगरीको रूपमा चिनिएको इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा आएको छ । शुक्रबार अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीले संयुक्त रूपमा रिवन काटेर हलको उद्घाटन गरे । कार्यक्रममा अहिलेको सुपरहिट फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द पन्तको पनि उपस्थिति रहेको थियो । सो हलमा पहिलो फिल्म पनि यही देखाइयो ।

आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्म ‘जिरो डिग्री’मा अभिनेत्री सनिशा भट्टराईले अभिनय गर्ने भएकी छन् । निर्माण पक्षले फिल्मको मुख्य महिला पात्रको भूमिकामा उनलाई अनुबन्धित गरेको हो । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ । यसअघि उनले दुई फिल्म ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’मा अभिनय गरेकी थिइन् ।

