
नेपालको फिल्म निर्माणमा सबैभन्दा सफल मानिएको दीपक-दीपा समूहले नयाँ फिल्म ‘छ माया छपक्कै २’को शुभ मुहूर्त गर्दै औपचारिक रूपमा निर्माण कार्य सुरु गरेको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मको छायांकन भने अबको तीन दिनपछि नुवाकोटबाट सुरु हुनेछ ।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच २ मिनेटभन्दा लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याइएको हो । ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ ।

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’ भदौ १२ गतेबाट प्रदर्शन हुने तयारीमा छ । उनी स्वयंको मुख्य भूमिका रहेको यो फिल्मको यतिबेला भारतको प्रतिष्ठित ‘यशराज स्टुडियोज्’मा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यसका लागि प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी अहिले भारतमा छन् ।

आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । टिजर र अघिल्लो गीत ‘गैराघरे काइँली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले आइतबार लोकलयमा आधारित उक्त गीत दर्शकमाझ ल्याएको हो । गीतमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई मुख्य विषय बनाइएको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । एक सयभन्दा बढी शोजसहित प्रदर्शनमा उत्रिएको यो फिल्मले पहिलो दुई दिनमा १ करोडमाथि ग्रस कमाइ गरेको निर्माताले दाबी गरेका छन् । फिल्मले पहिलो दिन ४० लाख हाराहारी र दोस्रो दिन शनिबार ६० लाखमाथि व्यापार गरेको जनाइएको छ ।

अभिनेता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ । उनकी आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान ५ बजे ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलमा निधन भएको हो । स्वास्थ्यमा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उनी ८८ वर्षकी थिइन् ।

