Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मास्टर्नी’का नयाँ पोस्टरमा आमा–छोरीको भावनादेखि अपराधको रहस्यसम्म

फिल्मीखबर, काठमाडौं, 2026/07/23

mastarni movie

 

अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा निर्माण रहेको फिल्म ‘मास्टर्नी’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी भदौ ५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको निर्माण पक्षले बिहीबार दुई पोस्टर दर्शकमाझ ल्याएको हो ।

यसअघि सार्वजनिक गरिएको पोस्टरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएपछि थप दुई नयाँ पोस्टर ल्याइएको निर्माण टिमले जनाएको छ । सार्वजनिक पोस्टरहरूले फिल्मको कथावस्तु र विधाबारे थप संकेत दिएका छन् । पहिलो पोस्टरमा प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत छन् । प्रियंकाको अँगालोमा रहेकी सिम्रनको भावुक दृश्यले आमा–छोरीबीचको सम्बन्धलाई केन्द्रमा राखिएको कथा रहेको संकेत दिन्छ । 

दोस्रो पोस्टरमा प्रियंकासँगै प्रमोद अग्रहरी र सिम्रन खड्का देखिएका छन् । पोस्टरमा ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ लेखिएको प्रहरी टेप, पृष्ठभूमिमा हराएका व्यक्तिहरूका सूचना देखिन्छ । साथै, समग्र दृश्य संयोजनले कथामा रहस्य र अपराधको पाटो रहेको संकेत गर्छ । 

पोस्टरमा ‘उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्’ भन्ने ट्यागलाइन समेत देखिन्छ । यसले आफ्नी छोरीलाई बचाउनका लागि एक आमाले कठिन निर्णय लिन बाध्य भएको कथावस्तुको संकेत दिन्छ । 

क्राइम–थ्रिलर विधामा आधारित फिल्म ‘मास्टर्नी’ शुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ । आयंका फिल्मस्को प्रस्तुति रहेको ‘मास्टर्नी’को निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन् ।  

फिल्ममा प्रियंका कार्की, प्रमोद र सिम्रनसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय  छ । युवराज इन्दोरियाले छायांकन गरेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका हुन् । 

‘मास्टर्नी’ लाई नेपालीसहित अन्य विभिन्न भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ ।