.jpg)
काठमाडौं । दसैंको अवसरमा रिलिज भएका चार फिल्ममध्ये ‘कबड्डी ५’ बक्स अफिसमा सबैभन्दा अगाडि देखिएको छ । कात्तिक ६ गते रिलिज भएको फिल्मले प्रदर्शनको १० दिनमा साढे १० करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाएको छ ।
१५ कात्तिकसम्म ३ लाख ४६ हजार ४२७ वटा टिकट बिक्री गरिसकेको ‘कबड्डी ५’ यस वर्षको दोस्रो धेरै कमाउने फिल्म समेत बनेको छ । यसअघि यो स्थानमा ‘पेन्सन पट्टा’ थियो, जसले आइतबारसम्म १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस व्यापार गरेको छ । रोचक कुरा के छ भने यी दुवै फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ ।
‘कबड्डी ५’पछि दसैंमा ‘आ बाट आमा २’ले दोस्रो सर्वाधिक कमाइ गरेको छ । यसले हिजो आइतबारसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको छ । यो कमाइ २ लाख १३ हजार १९४ वटा टिकट बिक्रीबापत भएको हो । तेस्रो स्थानमा भने ‘छ माया छपक्कै २’ छ, जसले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ ।
त्यस्तै, विराज भट्टको निर्देशनमा बनेको एक्सन फिल्म ‘१२ गाउँ २’ कमाइमा चौथो बनेको छ । यसका जम्मा ७४ हजार ८०३ वटा टिकट बिक्री भएका छन् भने त्यसबापत २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । योसँगै ‘१२ गाउँ २’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर बनेको छ । यसको पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोडको व्यापार गरेको थियो ।
दसैंका फिल्मसँगै बोर्डले ‘गौँथली’ र ‘बाः एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘गौँथली’को टिकट बिक्री ९ लाख ४६ हजार ८३४ र कुल व्यापार २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस छ । ‘बाः एक योद्धा’ले भने ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको छ । ‘गौँथली’ यस वर्ष सर्वाधिक कमाउने नेपाली फिल्म हो ।

