Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नामकै कारण भारतीय विमानस्थलमा नाजिरमाथि केरकार, भने- ‘यो गलत हो’

फिल्मीखबर, काठमाडौं, 2026/07/24

Najir Husen

 

अभिनेता नाजिर हुसेनले आफ्नो नामकै कारण दोस्रो पटक भारतीय विमानस्थलमा अनावश्यक सोधपुछमा परेको गुनासो गरेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट लेख्दै भारतमा आफू अभिनीत फिल्म ‘गुन्यो चोलो’को विशेष प्रदर्शनीमा सहभागी भएर नेपाल फर्किने क्रममा विमानस्थलका सुरक्षाकर्मीले आफूलाई छुट्टै कक्षमा लगेर सोधपुछ गरेको बताएका हुन् ।

उनका अनुसार आफूसँगै नेपाल फर्किएका ‘गुन्यो चोलो’का निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीसँग कुनै सोधपुछ गरिएको थिएन । आफूलाई भने ‘नेपाल किन जान लागेको ?’ र ‘कति पैसा छ ?’ भन्दै प्रश्न गरिएको उनले बताएका छन् । सोधपुछको कारणबारे जिज्ञासा राख्दा सुरक्षाकर्मीले ‘केही पनि होइन’ भन्दै स्पष्ट जवाफ नदिएको उनको भनाइ छ ।

उनले अगाडि लेखेका छन्, ‘मेरो पूरा नाम मोहमद नाजिर हुसेन । यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु, अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो । यदि होइन भने मैले कारण थाहा पाउनुपर्छ ।’ पहिलो पटक आफूमाथि भारतीय विमानस्थलमा सोधपुछ गर्दा सामान्यजस्तो लागेको भए पनि दोस्रो पटक ठिक नलागेको उनले बताएका छन् ।

उनले ‘मलाई मद्दत गर्नुहोस्, म कारण जान्न चाहन्छु’ भन्दै ह्यासट्यागमार्फत नेपालस्थित भारतीय दूतावास, नेपाल सरकार र चलचित्र विकास बोर्डलाई प्रश्न समेत गरेका छन् । उनको उक्त पोस्टमा धेरैले यो गम्भीर विषय भएकाले सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएका छन् । रंगकर्मी सुनिल पोखरेलले समेत ‘प्रश्न उठाउन नछाड्नु’ भन्दै कमेन्ट गरेका छन् ।