Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयको अन्तिम फिल्म ‘जन नायगन’ले गर्‍यो ४१ करोडको ओपनिङ

फिल्मीखबर, काठमाडौं, 2026/07/24

Jana Nayagan 2

 

तमिल सुपरस्टार थलपति विजय अभिनीत फिल्म ‘जन नायगन’ले रिलिजसँगै बक्स अफिसमा धमाका मच्चाएको छ । तमिलनाडुको मुख्यमन्त्री बनेपछि विजयको यो पहिलो फिल्म हो भने उनको अभिनय करिअरको अन्तिम फिल्म पनि हो । यसैले फिल्मप्रति दर्शकमा ठूलो उत्साह देखिएको थियो । त्यसको प्रत्यक्ष प्रभाव पहिलो दिनको बक्स अफिस कमाइमा परेको छ ।

पहिलो दिन १३ हजार ६७ शो पाएको फिल्मले भारतमा ४१ करोड नेट ओपनिङ गरेको बक्स अफिस ट्र्याकर सैकनिल्कले जनाएको छ । विदेशी बजारबाट भने फिल्मले ३० करोड रुपैयाँ कमाएको छ । योसँगै फिल्मको पहिलो दिनको विश्वव्यापी ग्रस कमाइ ७८ करोड २७ लाख रुपैयाँ पुगेको छ । फिल्मले भारतमा अग्रिम टिकट बिक्रीबाट मात्रै २० करोड कमाएको थियो ।

घरेलु बजार (भारत)मा फिल्मको तमिल संस्करणले सबैभन्दा राम्रो व्यापार गरेको छ । पहिलो दिन तमिल संस्करणको थिएटर अकुपेन्सी ६८.३१ प्रतिशत रहेको थियो, जसबाट फिल्मले भारु ३६ करोड ५० लाख रुपैयाँ कमाइ गर्‍यो । तेलुगु (२ करोड ७५ लाख) र हिन्दी संस्करण (१ करोड ७५ लाख)बाट भने फिल्मले ४ करोड ५० लाख रुपैयाँ कमाइ गरेको छ ।

दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यस फिल्ममा विजयसँगै ममिता बैजू, बोबी देओल, पूजा हेग्डे र प्रकाश राजको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा विजय पूर्व प्रहरी ‘वेत्री कोन्डन’को भूमिकामा देखिएका छन् । यसको लेखन तथा निर्देशन एच. विनोथले गरेका हुन् । फिल्मको निर्माण लागत ३०० करोड रुपैयाँ रहेको बताइएको छ ।