Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो सातामा दोब्बर बढ्यो ‘गौँथली’को शो, व्यापार कति ?

फिल्मीखबर, काठमाडौं, 2026/07/24

gauthali

 

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘गौँथली’को पहिलो साता उत्साहजनक रह्यो । ओपनिङ दयनीय भए पनि दर्शकीय प्रतिक्रियाका कारण दोस्रो दिनबाट फिल्मले व्यापारिक गति समातेको थियो । मंगलबार र बुधबार ‘हाफ टिकट डे’मा देशव्यापी ९० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको फिल्मले त्यसयता पनि दर्शकको राम्रो साथ पाइरहेको छ । 

८ साउन (आज)बाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो साताभन्दा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मलाई शो पनि अघिल्लो साताभन्दा दोब्बर बढी छ । फिल्मले प्रदर्शनको पहिलो दिन १ सय २० हाराहारी शो पाएको थियो । दोस्रो साताको शुक्रबार फिल्मको देशव्यापी शो साढे २ सयभन्दा बढी रहेको वितरक करण श्रेष्ठले जानकारी दिए । 

निर्माण पक्षले फिल्मको पहिलो साताको व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन । चलचित्र विकास बोर्डले हरेक सोमबार नियमित बक्स अफिस विवरण सार्वजनिक गर्ने भएकाले ‘गौँथली’का निर्माता पनि त्यसैको प्रतीक्षामा छन् । यद्यपि, फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार बिहीबारसम्म फिल्मले साढे ३ करोडभन्दा बढी कमाइ गरिसकेको छ । 

रोचक कुरा के छ भने फिल्म हेर्ने दर्शक पुरुषभन्दा महिला बढी देखिएका छन् । वितरक श्रेष्ठका अनुसार हलमा ८० प्रतिशतसम्म महिला छन् । एउटै परिवारका सबै महिला आएर समेत फिल्म हेरिरहेको उनले बताए । उनले भने, ‘हलमा महिलाहरूको यो किसिमको उपस्थिति यसअघि देखिएको थिएन । सासु-बहारीदेखि आमा-छोरीसम्म एकसाथ फिल्म हेर्न आइरहनुभएको छ ।’

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मले शिक्षाको महत्त्व दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।