.jpg)
नेपालीमा एउटा चर्चित उखान छ, ‘कहिले काहीँ नपत्याउने खोलाले पनि बगाउँछ ।’ अहिले फिल्म ‘गौँथली’को व्यापारले यही उखानलाई चरितार्थ गरिदिएको छ । प्रदर्शनपूर्व ‘चल्ला र ?’ भनेर आशंका गरिएको फिल्मले शनिबारयता निरन्तर व्यापार बढाइरहेको छ । बुधबारसम्म आइपुग्दा फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्ने संकेत देखाइसकेको छ ।
फिल्मको ओपनिङ भने अपेक्षित हुन सकेको थिएन । लगभग २० लाखको व्यापार पहिलो दिन भएको थियो । तर, त्यही शुक्रबार फिल्म हेरेका दर्शकको सकारात्मक प्रतिक्रियाले शनिबार व्यापारमा उछाल देखियो । आइतबार पनि देशभर फिल्म हेर्ने दर्शकको चाप उच्च रह्यो । सोमबारबाट कामकाजी दिन सुरु हुँदा समेत फिल्मप्रति दर्शकको आकर्षण घटेको छैन ।
हिजो मंगलबार ‘हाफ टिकट डे’मा फिल्मले प्रदर्शनयताकै उच्च कमाइ गरेको जनाइएको छ । बुधबार फिल्मको व्यापार झनै आक्रामक छ । फिल्मका साँझसम्मका धेरै शोहरू हाउसफुल भइसकेका छन् । नेपालगन्ज, बुटवल, चितवन, कपिलवस्तु, धरान र पोखराजस्ता सहरमा त बुधबार टिकटको हाहाकार नै देखिएको छ । काठमाडौंका केही हलमा पनि यही अवस्था देखिन्छ ।
बुधबारको अकुपेन्सी हेर्दा फिल्मले एक करोड हाराहारी व्यापार गर्ने अनुमान गरिएको छ । अनुमानअनुसार व्यापार भएमा यो प्रदर्शनयताकै सर्वाधिक एकदिने कमाइ हुनेछ । फिल्मप्रति दर्शकको आकर्षण बढ्दै गएकाले आगामी दिनमा व्यापारिक रफ्तार अझ तीव्र हुने देखिएको छ । विशेषगरी महिला दर्शकहरूको उल्लेख्य उपस्थितिले फिल्मको व्यापारलाई थप बल पुर्याएको छ ।
फिल्मले व्यापारिक रफ्तार बढाउन थालेपछि देशभरका हलहरूले शो पनि बढाएका छन् । फिल्मले प्रदर्शनको पहिलो दिन १ सय २० हाराहारी शो पाएको थियो । बुधबारसम्म आइपुग्दा फिल्मको शो लगभग दोब्बर भइसकेको छ । वितरक करण श्रेष्ठ (क्रेजी)का अनुसार बुधबार फिल्मको देशव्यापी शो २ सयभन्दा बढी छ । बिहीबार शो थप बढ्ने उनले बताए ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मले बाल विवाहलाई केन्द्रमा राखेर श्रीमान्-श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।

