
जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदालाई लक्षित गरेर बिहीबारबाट प्रदर्शनको मैदानमा उत्रिएको कृषा चौलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । बिहानी शो अपेक्षाकृत नभए पनि दिउँसोबाट फिल्मले गति लिएको थियो । दिउँसो २ बजेपछिको धेरैजसो शोमा ८० प्रतिशतमाथि अकुपेन्सी रहेको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ ।


बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’को प्रदर्शनको एक हप्ताअघि ट्रेलर सार्वजनिक गरिएको छ । शाहरुखले बिहीबार दुबईबाट सार्वजनिक गरेको ट्रेलर ‘एक्सन प्याक्ड’ छ । भीएफएक्स र ब्याकग्राउन्ड म्यूजिक जबर्जस्त देखिन्छ । एक्सन अवतारमा प्रस्तुत भएका शाहरुखको दुई रुप देखाइएको छ । एउटामा उनी प्रहरी र अर्कोमा नकारात्मक भूमिकामा चित्रित छन् ।

पशुपतिनाथ परिसरमा छायांकन गरिएको गीतमा आँचललाई अभिनेत्रीकै रुपमा प्रस्तुत गरिएको छ । उनले एक गीतको छायांकन गरिरहेकी हुन्छिन् । र, सुटिङ हेर्न पुगेका भष्मे डन (विपिन) आफू हिरो भएर आँचलसँग नृत्य गरेको कल्पनामा डुब्छन् । प्रविन सिंहको नृत्य निर्देशन रहेको गीतमा विपिनको गेटअप र नृत्य शैली रोचक छ । गीतको अडियो र भिडियो दुवै पक्ष प्रशंसनीय छ ।

‘ऐंचो पैंचो’ रिलिजपूर्वसम्म अभिनेत्री वर्षा राउतको रोल काटिएको चर्चाले मिडिया गर्माएको थियो । तर, बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा सबैभन्दा बढी प्रशंसा वर्षाले नै कमाएकी छन् । गम्भीर भूमिकामा रहेकी उनले मनछुने अभिनय गरेको भन्दै प्रायःले प्रिमियरमा उनको प्रशंसामा शब्द खर्चिए । उनका साथै अभिनेता सुशील सिटौलाले पनि अभिनयको तारिफ पाएका छन् ।

फिल्म रिलिजका लागि भदौ उचित महिना मानिन्छ । पानी पर्ने सम्भावना न्यून रहने र चाडपर्वको रौनक हुने भएकाले हरेक वर्षको भदौमा नेपाली फिल्मबीच ठूलो प्रतिस्पर्धा हुने गर्छ । यसपालि पनि भदौमा फिल्म रिलिजको बाढी छ । अघिल्ला दुई हप्तामा मात्र चार नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन् । र, यो हप्ताका लागि दुईटा फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ले प्रदर्शन थालेका छन् ।

