मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’ले चार दिनमा १ करोड ५१ लाख कमाएको दाबी

फिल्मीखबर, काठमाडौं, 2024/02/27

gorkha wariwar

 

गोर्खा सैनिकको बहादुरीको कथामा आधारित भएर बनेको फिल्म ‘गोर्खा वारियर’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई फिल्मले आकर्षित गरेको छ । काठमाडौंसहित मोफसलका केही हलमा फिल्मको क्रेज राम्रो देखिन्छ । भोलिपल्टको शो अघिल्लो दिन नै हाउसफुल भैरहेका छन् । यसले फिल्म लामो रेसको घोडा बन्न सक्ने देखाउँछ ।

यसैबीच, फिल्मको चार दिनको व्यापार सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले मंगलबार फेसबुकमा सेअर गरेको एक पोस्टरमा फिल्मको कमाई १ करोड ५१ लाख उल्लेख छ । यदि यो आँकडा सही हो भने फिल्मका लागि सुखद् संकेत हो । वितरक करण श्रेष्ठले आइतबारदेखि प्रायः फिल्मको व्यापार खस्किने गरेको भए पनि ‘गोर्खा वारियर’को हकमा त्यो नदेखिएको दाबी गरे ।

निर्देशक चाम्स फिल्मलाई मिलेको दर्शकको साथ र प्रतिक्रियाले उत्साहित भएको बताउँछन् । उनी फिल्म हेर्न आग्रह गर्दै भन्छन्, ‘विशेषगरी लाहुरेसँग सम्बन्धित व्यक्तिहरुलाई फिल्म हेर्न आग्रह गर्छु । समग्रमा हामी नेपालीको कथा छ । सबैले हेर्नुपर्छ । जसले गर्दा अरुलाई पनि यस्तो फिल्म बनाउन प्रोत्साहन मिल्नेछ ।’ यो फिल्म सफल भए यसको सिरिज बनाउने मिलनको योजना छ ।

सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । यो फिल्मले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ ।