मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजिरको विश्वास- ‘मलाई मधेशी चरित्र मात्र सुहाउँछ भन्ने भाष्य ‘अगस्त्य’ले तोड्छ’

फिल्मीखबर, काठमाडौं, 2024/02/27

अभिनेता नाजिर हुसेनलाई धेरैले फिल्म ‘होस्टेल रिटर्न्स’को रामेश्वर यादव भनेरै चिन्ने गरेका छन् । यो उनको पहिचान नै बनेको छ । ‘होस्टेल रिटर्न्स’पछि मधेशी चरित्रमा उनी निर्विकल्प बनेका थिए । तर, मेकरहरुले उनलाई मधेशी चरित्रमा पनि फरक हिसाबले प्रस्तुत गर्न सकेनन् । उनलाई दर्शक हँसाउने पात्रको रुपमा मात्र सीमित बनायो । उनलाई पनि त्यो स्वीकार्नुको विकल्प नै थिएन ।

तर, एउटै किसिमको चरित्रचित्रणले नाजिर मात्र होइन, दर्शक पनि दिक्क भैसकेका थिए । यसैले हुनसक्छ, उनले ४ वर्ष फिल्म नै गरेनन् । अब उनका दुई फिल्म ‘अगस्त्य’ र ‘गुन्यू चोलो’ प्रदर्शनको तयारीमा छन् । यी दुवै फिल्ममा नाजिरको भूमिका फरक छ । ‘अगस्त्य’मा एक्सन भूमिकामा छन् भने ‘गुन्यू चोलो’मा ‘ट्रान्सवुमन’ बनेका छन् । ‘अगस्त्य’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

 

Najir Husen


आफूलाई लिएर बनेको मधेशी चरित्र मात्र गर्न सक्छ भन्ने भाष्य ‘अगस्त्य’ले तोड्छ भन्ने नाजिरलाई विश्वास छ । ‘मलाई मधेशी चरित्र मात्र सुहाउँछ वा त्यो मात्र गर्न सक्छ भन्ने भाष्य यसले तोड्छ भन्ने पूर्ण विश्वास छ,’ उनी भन्छन्, ‘म अहिलेसम्म रोमान्टिक र कमेडी भूमिकामा बढी देखिएको थिएँ । पहिलोपटक केही फरक काम देख्न पाउनुहुन्छ । मेरो कम संवाद छ । भित्री काम बढी देखिन्छ ।’

‘अगस्त्य’मा फरक लुक्सभन्दा पनि विभिन्न इमोसनमा काम गर्न पाएकोमा उनी खुसी देखिन्छन् । यो हरेक कलाकारलाई लोभ हुने गरेको नाजिरको बुझाई छ । यद्यपि, यसमा गाह्रो पनि उतिक्कै हुने उनको अनुभव छ । ‘मेरो चरित्रमा शारीरिक रुपमा त्यस्तो खासै फरक देखिँदैन होला तर त्यो दिइएको परिस्थितिमा फरक जिन्दगी बाँच्नुपर्ने थियो । त्यो चाहिँ मेरो लागि गाह्रो नै थियो,’ उनले भने ।

नाजिर मधेशी चरित्रमा काम गर्न आफूलाई समस्या नभएको पनि जिकिर गर्छन् । तर, त्यो सतही हुनुहुँदैन भन्ने उनको अडान छ । उनी भन्छन्, ‘मैले लामो समय फिल्म गरिनँ । जति पनि अफर आए, प्रायःमा मधेशी चरित्र थियो । तर, ‘होस्टेल रिटर्न्स’को रामेश्वर यादवको भन्दा फरक थिएन । मधेशी चरित्रमै यदि फरक हुन्छ भने मलाई काम गर्न समस्या होइन । मात्र त्यो सतहीमा हुनुभएन ।’