
यही असोज १९ गतेबाट प्रदर्शन थालनी गर्न लागेको फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार तीजको अवसर पारेर सार्वजनिक गरिएको २ मिनेट १० सेकेण्ड लम्बाईको ट्रेलरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । फिल्मको कथा पौराणिक विषयवस्तुमा आधारित रहेको निर्माण टिमको दाबी छ । ट्रेलरमा अभिनेता किशोर खतिवडा नकारात्मक भूमिकामा प्रस्तुत छन् ।

संसारकै प्रतिष्ठित ओस्कार अवार्डको ९६औँ संस्करणमा नेपालबाट फिल्म ‘हल्कारा’ले प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले विक्रम सापकोटाद्वारा निर्देशित फिल्मलाई ओस्कार अवार्डमा प्रतिस्पर्धी बन्नका लागि सिफारिस गरेको हो । यसका लागि ‘हल्कारा’सहित ‘डाकिनी’, ‘बगान’, ‘नीरफूल’ र ‘बुलाकी’ गरी पाँच नेपाली फिल्मले आवेदन दिएका थिए ।

हरितालिका तीजलाई लक्षित गरेर वर्षेनि दर्जनौं गीत सार्वजनिक हुने गरेका छन् । त्यसमध्ये केही सीमित गीत मात्र चर्चामा रहन्छन् । तर, तीज सकिएसँगै त्यसको लोकप्रियता पनि एकाएक सकिन्छ । एउटा तीज गीत भने सर्वकालिन लोकप्रिय छ । त्यो हो, फिल्म ‘कन्यादान’ मा समावेश ‘तीजको रहर आयो बरि लै’ । यो गीत बिना त तीजको कल्पना समेत गर्न सकिँदैन । तीजको पर्याय नै हो ।

पछिल्ला वर्षमा नेपाली फिल्मको प्रचार एउटै शैलीको देखिँदै आएको छ । कि कलेज डुलेर विद्यार्थी फकाउने कि त मिडिया धाएर अन्तर्वार्ता दिने । विभिन्न प्रतियोगिताको घोषणा पनि बेला बखतमा हुने गर्छ । यीबाहेक प्रचारमा नयाँ प्रयोग भने हुन सकेको छैन । फिल्मप्रति दर्शकलाई आकर्षित गर्न प्रचार शैलीको निकै ठूलो भूमिका रहन्छ । तर, नेपाली फिल्म प्रचारमै चुकिरहेको अवस्था छ ।

नेपालमा पहिलो पटक आइफोनबाट फिल्म खिचिने भएको छ । नेपालका फिल्म कलेजहरुबाट ब्याचलर पास गरेका विद्यार्थीहरुले आइफोन १४ प्रो म्याक्सबाट फिल्म ‘अ प्लेस अन्डर द सन’को छायांकन गर्न लागेका हुन् । जेसन लोप्चनको निर्देशनमा बन्न लागेको फिल्मलाई प्रविन लिम्बूले छायांकन गर्नेछन् । जेसनले आइफोनबाट फिल्म खिच्न सहज नभए पनि नयाँ प्रयोग गर्न लागेको बताए ।

सिमोस सुनुवारको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘हात्तीछाप’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुकमा अभिनेता सौगात मल्ल मात्र फिचर्ड छन् । उनलाई ‘बोत्तल राजा’को रुपमा चित्रित गरिएको छ । उनको लुक्स र गेटअपले आफूलाई ‘राजा’ ठान्ने रिसाहा पात्रको भूमिकामा उनले अभिनय गरेको हुनसक्ने बुझिन्छ ।

