
‘कसले चोर्यो मेरो मन’ फेम्ड निर्देशक सविर श्रेष्ठले ‘रुखान’ नाममा फिल्म बनाउने भएका छन् । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । एआईको प्रयोग गरेर तयार पारिएको पोस्टरमा एक महिलालाई विद्रोही अवतारमा चित्रण गरिएको छ । पृष्ठभूमिमा आन्दोलनकारी, आर्मी फोर्स, अक्सिजन माक्स लगाएको विरामी र न्यायमूर्तिको प्रतिमा देखिन्छ ।

‘डायरी’ निर्देशक अनिल योञ्जनले करिब ७ वर्षपछि फिल्म ‘रुमानी’बाट कमब्याक गर्ने भएका छन् । आगामी चैतबाट छायांकनको तयारी गरिएको फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । अर्थात् फिल्ममा उनीहरुको जोडी बाँधिनेछ । लभस्टोरी कथावस्तुमा बन्न लागेको फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।

‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको फेरि एकपटक फिल्ममा जोडी बाँधिएको छ । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’मा उनीहरु एकसाथ देखिँदैछन् । यतिबेला सिन्धुली क्षेत्रमा छायांकन भैरहेको फिल्मको सेटबाट सौगात र बेनिशा क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । फिल्मीखबरलाई प्राप्त तस्विरमा उनीहरु गाउँले गेटअपमा प्रस्तुत छन् ।

सरकारले विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी कर लिन थालेपछि त्यसको विरोधमा सोमबार देशभरका हलहरु बन्द गरिएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको निर्णयअनुसार मूल्य अभिवृद्धि करबाहेकका अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा हल बन्द गरिएको हो । मंगलबारबाट भने हलहरु यथावत् रुपमै सञ्चालनमा आउनेछन् ।

कमेडी-क्राइम तथा एक्सन विधामा बनेको फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे २ मिनेट लम्बाईको ट्रेलरमा पैसाले उत्पन्न गराएको परिस्थितिलाई रोचक ढंगले चित्रण गरिएको छ । पैसाको चक्करमा दुई युवा कसरी समस्यामा पर्छन् र त्यसबाट उम्कन उनीहरुले गर्ने संघर्षमा ट्रेलर आधारित छ । कमेडी जनरा मनपराउने दर्शकका लागि फिल्म रुचिकर हुनसक्ने देखिन्छ ।

‘साइँला’ उपनामले परिचित अभिनेता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार मुलपानीस्थित नर्लिङ रिसोर्टमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थिति थियो । गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

