मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’को प्रिमियरमा कसले के भने ?

फिल्मीखबर, काठमाडौं, 2024/04/12

यस वर्षको ठूलो रिलिज फिल्म ‘डिग्री माइला’लाई प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । बिहीबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा उपस्थिति प्रायःले फिल्मको कथावस्तु, निर्देशन पक्ष र कलाकारको अभिनयको प्रशंसा गरे । प्रिमियरका लागि बिग मुभिजलाई आकर्षक रुपमा सिंगारिएको थियो । करिब ७ सय अतिथि प्रिमियरमा उपस्थित भएका थिए ।

 

Dayahang-Aanchal


‘जारी’की अभिनेत्री मिरुना मगरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मलाई फिल्म एकदमै राम्रो लाग्यो । सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा युवाहरुले सामना गरिरहनुपरेको जुन कुरालाई देखाइएको छ, त्यसले एकदमै मन छोयो ।’ उनले अभिनेत्री आँचल शर्माको प्रशंसामा पनि शब्द खर्चिइन् । आँचलको काम थप माझिएको मिरुनाको बुझाई छ ।  

अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ हेर्नलायक फिल्म बनेको जिकिर गरिन् । फिल्मले समाजलाई प्रश्न पनि गर्ने उनको भनाई थियो । ‘डाइङ क्याण्डल्स्’बाट राष्ट्रिय अवार्ड जितेकी श्रृजना सुब्बाले फिल्मको अन्तिम सिनले मन भारी बनाएको प्रतिक्रिया दिइन् । गहन कुरालाई रमाइलो तरिकाले प्रस्तुत गर्ने रामबाबु गुरुङ (निर्देशक)को खुबीको प्रशंसा गर्दै उनले फिल्म मन परेको बताइन् ।

 

aanchal sharma


फिल्मका अभिनेता दयाहाङ राईले मिहिनेतअनुसार काम देखिएकोमा खुसी व्यक्त गरे । ‘मैले पनि पहिलोपटक फिल्म हेरेको हुँ । मैले इमानदार भएर फिल्म हेर्ने कोसिस गरेँ । हामीले जो मिहिनेत गरेका थियौं, त्यो चाहिँ छर्लङ्ग देखिन्छ । र, कलाकारहरु सबैको काम मलाई एकदमै मनपर्‍यो,’ उनले भने । रामबाबु गुरुङले भन्न खोजेको कथा स्पष्टसँग स्क्रिनमा आएको छ भन्ने उनलाई लाग्छ ।

आँचललाई पनि फिल्म मन परेको छ । उनले प्रिमियरमा सञ्चारकर्मीसँग भनिन्, ‘मलाई त रमाइलो लाग्यो फिल्म । किनभने, हँसाइ पनि रहेको छ । र, एउटा मान्छेको पीडा पनि झल्किरहेको छ । समाजलाई देखाउन लाग्दा त्यहाँको राम्रो र नराम्रो सबै कुराहरु समेटिएको छ । म चाहिँ फिल्म हेर्दा रमाएँ ।’ दयाहाङले आँचलको अभिनयमा परिपक्वता देखिएको भन्दै प्रशंसा पनि गरेका थिए ।

 

Digree-Maila-Premiere


त्यस्तै, एमाले नेता रघुजी पन्तले समग्रमा फिल्म मनोरञ्जक रहेको र सन्देश पनि बोकेको बताए । उनले भने, ‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ र कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । यो टिपिकल रामबाबुको फिल्म हो,’ उनले भने । प्रिमियरमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, दीपाश्री निरौला लगायत पनि उपस्थित थिए ।