मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन, प्रदीप र पल स्टारर ‘पूजार सार्की’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/04/12

Aryan Sigdel, Pradeep Khadka, Paul Shah

 

आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्ष (२०८१)को अवसर पारेर शुक्रबार युट्युबमा सार्वजनिक टिजरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरु अञ्जना बराइली र परीक्षा लिम्बूको चरित्रचित्रण गरिएको छ ।

पृष्ठभूमिमा रेडियो नेपाल बजिरहेको दृश्यबाट टिजरको सुरुवात हुन्छ । जहाँ २०४६ साल भनेर भनिएको छ । अर्थात् फिल्मको कथा जनयुद्धभन्दा अगाडिको देखिन्छ । प्रदीप दमाहा बजाउँदै प्रस्तुत छन् भने आर्यन डोलीमा चढेका छन् । उनको हुलियाले पूजारीको संकेत गर्छ । प्रदीपको परीक्षासँग र आर्यनको अञ्जनासँग आँखा जुधेको दृश्यलाई पनि टिजरमा बुनिएको छ । अर्को दृश्यमा भने आर्यन र प्रदीपलाई गाउँलेहरुले लखेटिरहेको देखिन्छ ।

पल भने टिजरमा क्रान्तिकारी शैलीमा प्रस्तुत छन् । उनले कसैमाथि बन्दुक ताकिरहेका छन् । र, उनले बन्दुक पड्काएपछि निर्देशकको नाम आउँछ । टिजरको अन्तिममा प्रदीपले पूजार पात्रसँग सोधेका छन्, ‘शास्त्र पढे बाहुन भइन्छ ?’ यो संवादले फिल्मको कथासार बुझाएको छ । कथित तल्लो र उपल्लो जातका पात्रको संघर्षमा फिल्म आधारित रहेको टिजरले छनक दिन्छ ।

दिनेश राउतको निर्देशक तथा विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसालले फिल्मको निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।