
आगामी फागुन २५ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई ग्याङस्टार भूमिकामा प्रस्तुत हुँदैछ । उनको अपोजिटमा रहेकी अभिनेत्री मिरुना मगरले भने थारु युवतीको भूमिका निर्वाह गरेकी छन् । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा उनलाई ‘जुनकिरी’को रुपमा चिनाइएको छ । उनी निराश र भावुक भावमा प्रस्तुत छिन् ।

मित्र प्रधान (नर)को निर्देशनमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ । शिवम् अधिकारीको लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहनेछ ।

मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’को ‘कागभन्दा कोइली चलाख’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक लोक शैलीको गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द रचना र विकास चौधरीको संगीत रहेको छ । गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सन विक्रम राई, विमला लिम्बु र गीता ढुंगाना प्रस्तुत छन् ।

यम शेर्पाको डेब्यू निर्देशनमा तयार हुन लागेको फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनीसँग निर्माण टिमले यसै साता सम्झौता गरेको हो । गत असारमा उनी अभिनीत फिल्म ‘परस्त्री’ प्रदर्शनमा आएको थियो भने तिहारअघि फिल्म ‘रङ्गेली’को एक गीतमा नृत्य गरेकी थिइन् । प्रायः हरेक फिल्ममा उनको अभिनयको प्रशंसा हुँदै आइरहेको छ ।

काठमाडौँमा इन्टरनेशनल वुमेन फिल्म फेस्टिभल आयोजना हुने भएको छ । आयोजक संस्था इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही मङ्सिर ९ गते हुने फेस्टिभलबारे जानकारी गराएको छ ।

तिहारको माहोललाई मध्यनजर गर्दै कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले दुई दिन निराशाजनक व्यापार गर्यो । हलमा दर्शक सिला खोज्नुपर्ने स्थिति थियो । त्यसमाथि आइतबारबाट बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ आउँदा फिल्म ‘रेड जोन’मा थियो । धेरैजसो मल्टीप्लेक्सहरुमा शोज पनि ठूलो मात्रामा खोसियो ।

