मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मनीषा भन्छिन्, ‘मैले करिअरमै सबैभन्दा बढी रिटेक ‘हिरामन्डी’मा दिएँ’

फिल्मीखबर, काठमाडौं, 2024/05/07

कुनै बेला बलिउड फिल्ममा अभिनेत्री मनीषा कोइरालाको राम्रो दबदबा थियो । सन् १९९१ मा आएको फिल्म ‘सौदागर’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसपछि दर्जनौं फिल्ममा काम गरिन् । उनले अघिल्लो पुस्ताका स्वर्गीय अभिनेता ऋषि कपूरदेखि अहिलेका सुपरस्टार रणवीर कपूरसम्म काम गरेकी छन् । तर, जीवनको एउटामा विन्दूमा आएको उतार-चढावले उनको करिअरमा पनि प्रत्यक्ष असर पार्‍यो ।

कुनै बेला उनकै काँधमा फिल्म हुन्थ्यो । अहिले सहायक भूमिकामा बढी देखिने गरेकी छन् । यसको पछाडि उमेर र समय पनि एउटा कारण हुनसक्छ । यद्यपि, यतिबेला नेटफ्लिक्स सिरिज ‘हिरामन्डी : द डायमन्ड बजार’ले उनलाई चर्चामा ल्याएको छ । यसमा उनी सहायक भूमिकामा छैनन्, लगभग सिरिज नै उनको काँधमा छ । ‘मल्लिका जान’को भूमिकामा उनले बुलन्द अभिनय गरेकी छन् ।

‘हिरामन्डी’लाई बलिउडका नामी निर्देशक सञ्जय लीला भंसालीले निर्देशन गरेका हुन् । मनीषालाई लिएर यसअघि भंसालीले ‘खामोशी : द म्युजिकल’ (१९९६) बनाएका थिए । २८ वर्षपछि उनीहरुको सहकार्य जुरेको हो । यो सिरिजबाट प्रस्ताव आउँदा मनीषा नेपालमै थिइन् । उनले भंसालीप्रतिको विश्वासमा स्क्रिप्ट नै नपढि काम गर्न मञ्जरी जनाएकी रहेछिन् । पछि उनले जुमबाट सिरिजको कथावस्तु र आफ्नो चरित्रबारे जानकारी लिइन् ।

 

Heeramandi: The Diamond Bazaar' Indian Historic-Drama Series: Coming to  Netflix in May 2024 - What's on Netflix


‘हिरामन्डी’को प्रचारको क्रममा उनले एक भारतीय च्यानलसँग भनेकी छन्, ‘म बलिउडसँग ‘डिस्कनेक्ट’ अवस्थामा थिएँ । ‘गार्डेनिङ’ मेरो रुचि हो । नेपालमा म त्यसैमा रमाइरहेकी थिएँ । त्यही बेला भंसालीको अफिसबाट फोन आयो । सञ्जयले राम्रो रोल छ, स्क्रिप्ट पढ् भनेपछि म एकदमै खुसी भएँ । सञ्जयसँग अब फेरि काम गर्न पाइन्छ भनेर मैले त सपना देख्न पनि छाडिसकेकी थिएँ । यद्यपि, हामी राम्रो साथी हौं । मलाई फेरि ऊसँग काम गर्न मन थियो । ऊ आफैंले कामको प्रस्ताव राख्दा मेरो खुसीको सीमा थिएन । मैले स्क्रिप्ट पनि नपढि काम गर्न मञ्जुरी जनाएँ ।’

मुम्बई फर्किएपछि मनीषाको ‘लुक टेस्ट’ भयो । त्यसबेला मात्र उनलाई आफ्नो चरित्र कस्तो हुन्छ भन्ने छर्लङ्ग भएको रहेछ । उनी ‘हिरामन्डी’मा आफूले करिअरमै सबैभन्दा बढी ‘रिटेक’ दिएको स्मरण गर्छिन् । ‘मैले करिअरमै सबैभन्दा बढी ‘रिटेक’ यही सिरिजमा दिएँ । एउटा सिनमा २२/२५ ‘रिटेक’ भएको थियो । त्यसबेला मैले के सोचेकी थिएँ भने जेसुकै होस् म टसमस हुँदिनँ । जबसम्म सञ्जय मेरो सिनबाट खुसी हुँदैन तबसम्म म सिन दिन्छु । किनकि, अब म जे पनि गर्न चाहन्छु, त्यसमा आफ्नो २ सय प्रतिशत दिन्छु ।’  

जीवनको यो उमेरमा राम्रो रोल कमै मिल्ने मनीषाको अनुभव छ । यसैले ‘हिरामन्डी’मा पाएको रोलप्रति उनी आफूलाई भाग्यमानी महसुस गर्छिन् । ‘म अहिले ५३ वर्षको भएँ । यो उमेरमा राम्रो रोल एकदमै कम मिल्छ । जब ‘हिरामन्डी’को रोल मिल्यो तब मैले आफूलाई एकदमै भाग्यमानी महसुस गरेँ । मलाई यति सशक्त भूमिका दिएकोमा सञ्जयप्रति कृतज्ञ छु । सञ्जयले मलाई यही कामले हामीलाई मानिसहरुले वर्षौंपछि पनि याद गर्नेछन् भनेर ढाडस दिँदा मेरो शरीरमा काँडा उम्रिएको थियो,’ उनले सम्झिइन् ।

‘हिरामन्डी’पछि मनीषाले सोच्नै छाडेकी छन् । अब के हुन्छ र कहिले हुन्छ उनलाई नै थाहा छ । यतिबेला उनी ‘हिरामन्डी’मा आफ्नो काम र मिहिनेत रुचाइएकोमै खुसी छिन् । ‘धेरै दर्शकहरुले म्यासेज गरेर तारिफ गर्नुभएको छ । मेरा समकालीन र फिल्म क्षेत्रका धेरैले फोन गर्नुभएको छ । म कृतज्ञ छु । यो उमेरमा यो मौका दिएकोमा भगवानप्रति आभारी छु,’ उनले खुसी व्यक्त गरिन् । ‘हिरामन्डी’ रिलिजसँगै मनीषा यसै साता काठमाडौं फिरिसकेकी छन् ।