
नेपालीहरुका लागि दशैं र तिहार जति ठूलो चाड हो, त्योभन्दा कम मानिँदैन नेपाली फिल्मका लागि । लामो विदा र प्रायः मानिस ‘फेस्टिभल मुड’मा हुने भएकाले यो समयमा फिल्म रिलिज सबैभन्दा उपयुक्त मानिन्छ । दशैं र तिहारमा रिलिज गर्दा फिल्म फ्लप हुने खतरा पनि कम हुन्छ । यसैले वर्षौंदेखि यी दुई ठूला पर्वमा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलो रस्साकस्सी हुने गरेको छ ।

‘प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनले आफ्नो निर्देशनमा ६ करोड खर्चिएर नेपाली र हिन्दी भाषामा फिल्म ‘बलिदान’ बनाउँदैछन् । लक्ष्मीपूजाको दिन टिजर सार्वजनिक गरिएदेखि चर्चामा रहेको फिल्ममा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । मुख्य भूमिकाका लागि अझै केही कलाकारको खाँचो छ । दर्शकहरुले भने ‘एक्सन स्टार’ विराज भट्टको नाम जपेका छन् ।

बलिउड फिल्म ‘टाइगर ३’को चुनौतीका बावजूद तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म फिल्म ‘दिमाग खराब’ घरेलू बक्स अफिसमा बलियो पकड बनाएको छ । ओपनिङ कमजोर रहे पनि अब्बल ‘वर्ड अफ माउथ’ले तिहारको विदाबाट फिल्मले ‘पिकअप’ लिन थालेको थियो । यतिबेला ‘टाइगर ३’भन्दा राम्रो व्यापार गरिरहेको छ ।

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्म ‘फर्की फर्की’को मुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरिएको हो । फिल्मको छायांकन भने मंसिर ११ गते तालनगरी पोखराबाट सुरु हुनेछ । अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ ।

कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र वितरकको संस्था नेपाल चलचित्र संघ सहमत भएको छ । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउनेछन् । यसले नेपाली निर्मातालाई ठूलो राहत हुने देखिएको छ ।

‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले आफ्नो सातौं फिल्मको घोषणा गरेका छन् । उनले बिहीबार फेसबुकमार्फत् ‘पुजार सार्की’ शीर्षकमा फिल्म निर्माणको घोषणा गरेका हुन् । वास्तविक कथा र पात्रबाट प्रभावित भएर निर्माण हुन लागेको फिल्मको छायांकन आगामी माघ महिनाको पहिलो साताबाट सुरु हुने जानकारी गराइएको छ । फिल्मको सम्पूर्ण छायांकन पश्चिम नेपालमा गरिनेछ ।

