
‘प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनको आगामी फिल्म ‘बलिदान’को छायांकन सुरु हुनुभन्दा अगाडि नै टिजर सार्वजनिक गरिएको छ । आइतबार लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको १ मिनेट १४ सेकेण्ड लम्बाईको टिजरले फिल्म एक्सन प्रधान हुने संकेत गर्छ । टिजरमा नरसंहार दृश्य समावेश छ । र, अन्तिममा एक पात्रलाई गाडीको छतमाथि प्रस्तुत गरिएको छ ।

२०७२ सालमा आएको सफल फिल्म ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको मौका पारेर फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आएको थियो । रिलिजपूर्व फिल्मको जबर्जस्त हाइप थियो । फलतः त्यसको प्रभाव ओपनिङमा पनि देखियो । तर, ‘वर्ड अफ माउथ’ नै मजबूत हुन नसक्दा दशैं विदा सकिएसँगै फिल्मको व्यापार पनि एकाएक खस्किन पुग्यो ।

निर्देशक निश्चल बस्नेतलाई अभिनय र गायनमा पनि रुचि छ । बेला बखतमा फिल्म र गीतमा त्यो प्रकट हुँदै आइरहेको छ । उनले ‘प्रसाद’, ‘दुई रुपैयाँ’ र ‘घामड शेरे’ जस्ता फिल्ममा मुख्य भूमिका नै निभाएका छन् भने उनको स्वरबद्ध ‘काले दाई’, ‘उध्रेको चोली’, ‘माया ओए ओए ओए’ जस्ता गीत चर्चित छन् । ६ वर्ष निर्देशनबाट टाढा रहँदा उनी अभिनय र गायनमा नै व्यस्त देखिएका थिए ।

करिब २ दशक अगाडिको सुपरहिट फिल्म ‘बादलपारी’को कालजयी गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रिमेक गरेर निर्देशक दीपक श्रेष्ठले आफू निर्देशित नयाँ फिल्म ‘पर्खि बसेँ तिमीलाई’मा समावेश गरेका छन् । शुक्रबार सार्वजनिक गीतमा सुरेन्द्र राणाको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । रिमेक भर्सनमा प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको छ ।

दशैंको मौका पारेर फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को प्रचारको क्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछानेले यसलाई ‘यूनिभर्स’को रुपमा लैजाने उद्घोष गरेका थिए । त्यसअनुरुप फिल्मको तेस्रो सिक्वेल घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रममा ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरियो ।

दशैंको अवसरमा टिजर र गीत सार्वजनिक गर्दै आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बिच्छेद’ पोस्टपोन्ड भएको छ । प्रचारका लागि पर्याप्त समय नपुगेको र पोस्ट प्रोडक्सनको काम भ्याउन अझै केही समय लाग्ने भएपछि फिल्मको रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सत्यराज चौलागाईँले जानकारी दिए । तिहारपछि नयाँ प्रदर्शन मिति निश्चित गरिने उनको भनाई छ ।

