मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ प्रिमियर : सन्ध्या भन्छिन्, ‘नीतिको अभिनय नेचुरल’

फिल्मीखबर, काठमाडौं, 2024/05/08

यही शुक्रबार (बैशाख २८)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’बाट पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहले डेब्यु गरेकी छन् । उनकै नामका कारण फिल्मको पनि चर्चा भइरहेको छ । फिल्ममा डेब्यु अगाडि नै ‘लाइमलाइट’मा रहेकी नीतिको अभिनयलाई लिएर धेरैमा चासो देखिन्छ । मंगलबार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा भएको फिल्मको प्रिमियरमा उनको अभिनयको परीक्षण भयो ।

 

niti reyar 1

 

नीतिको पहिलो फिल्म भएकाले प्रिमियरमा उनी नजिकका अभिनेत्रीदेखि पूर्व मिस नेपालसम्मको उल्लेख्य उपस्थिति देखिएको थियो । अभिनेत्री सन्ध्या केसीले नीतिको अभिनय ‘नेचुलर’ रहेको भन्दै प्रशंसा गरिन् । ‘नीतिको अभिनय ‘नेचुरल’ छ । र, उसलाई ठूलो पर्दामा देख्दा रमाइलो लाग्यो । फिल्म राम्रो छ,’ उनले भनिन् । अर्की अभिनेत्री शुभेक्छा खड्काले फिल्म रमाइलो बनेको प्रतिक्रिया दिँदै नीतिलाई पर्दामा हेर्दा खुसी लागेको बताइन् ।

मोडल ओसिन सिटौलाले फिल्म ‘रिफ्रेसिङ’ लागेको अनुभव सुनाइन् । फिल्ममा नीति एकदमै सुन्दर देखिएको समेत उनको भनाई थियो । फिल्म हेर्न नीतिका आमा-बुबा पनि प्रिमियरमा पुगेका थिए । दुवैले पहिलो प्रयासमा पनि छोरीले राम्रो काम गरेकोमा खुसी व्यक्त गरे । नीतिका बुबाले भने- ‘उसले चाहेको कुरा राम्रोसँग गरेको छ । उसको काम हेर्दा खुसी लाग्यो । पहिलो प्रयासमा जति गरेको छ, धेरै राम्रो छ ।’

प्रिमियरमा मिलेको प्रतिक्रियाले खुसी देखिएकी नीतिले फिल्ममा आफूले राम्रो काम गर्ने प्रयास गरेको बताइन् । ‘मेरो पहिलो फिल्म हो । मैले आफ्नो तर्फबाट १ सय १० प्रतिशत दिएकी थिएँ,’ उनी भन्छिन्, ‘अरु फिल्ममा आफ्नो अभिनय क्षमता अझै निखार्दै जानेछु । यो अवसर दिनुभएकोमा निर्देशकसहित सबैलाई धन्यवाद भन्छु ।’

फिल्ममा खजुरे पात्रको भूमिकामा अभिनय गरेका अभिनेता रेअर राईले फिल्मका लागि आफूले ११ केजी तौल बढाएको अनुभव सुनाए । उनले विरामी हुँदा पनि फिल्ममा काम गरेका रहेछन् । ‘फिल्मका लागि एक महिनामा ११ केजी मोटाएको थिएँ । कति दिनसम्म नुहाइनँ । फोहोर र धुलोले गर्दा म विरामी परेको थिएँ । एक हप्ता त मैले एन्टीबायोटिक खाएरै सुटिङ गरेको थिएँ । काम गर्दा दुःख पनि भयो र मज्जा पनि आयो । अहिले पर्दामा हेर्दा खुसी लाग्यो,’ उनले भने ।

फिल्मका अर्का अभिनेता महेश त्रिपाठीले प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘प्रतिक्रिया राम्रो पाएँ । फिल्म हेर्दा ‘इन्जोय’ गर्नुभएको छ,’ उनले भने, ‘फिल्म सुरु हुनुभन्दा अगाडि मलाई डर थियो । तर, हलबाट निस्किँदा सबैले बधाई दिएपछि एककिसिमले मन शान्त भएको छ ।’ उनले फिल्ममा धरानको पात्रमा अभिनय गर्न गाह्रो भएको पनि अनुभव सुनाए ।

 

niti shah khajure


फिल्मको प्रिमियरमा पूर्व मिस नेपाल प्रियंका रानी जोशी, अभिनेत्री मलिका महत, भ्लगर सिसन बानियाँ, निर्देशकहरु लक्ष्मण सुवेदी, बसन्त निरौला, लेखक प्रदीप भारद्वाज, निर्माता किरण नेपाली लगायतको पनि उपस्थिति रहेको थियो । प्रिमियरमा नीति नजिकका धेरै सहकर्मीहरु उपस्थित भए पनि मिडियामा प्रतिक्रिया दिने समयमा प्रायः लाखापाखा लागिसकेका थिए ।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।